प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्नेगरी कुनै सम्झौता नगरिने बताएका छन । हिजो काठमाडौंमा आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले भने, “यसअघि नाकाबन्दीको सामना गर्दा सरकारबाट बाहिर पुग्यौँ होला तर कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सत्तामा आउँछौँ भनेका थियौँ र आयौँ पनि । दुई ठूला राजनीतिक दल एमाले र नेपाली कांग्रेससहितको वर्तमान सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।” हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन आग्रह गरे ।
आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले “भाडामा ल्याइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन्, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय छौँ भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनसम्म कुर्नुपर्ला, त्यसपछि परिणाम थाहाहोला ।” लोकतन्त्र भनेको छाडातन्त्र नभएको स्पष्ट गर्दैै प्रधानमन्त्री ओलीले भने, “नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छाैँ, चुट्छौँ, मार्छाै, काट्छौँ भन्नु छाडातन्त्र हो, प्रजातान्त्रिक शासन व्यवस्थामा त्यस्ता क्रियाकलाप सैह्य हुँदैनन् ।”








