समय र परिस्थिति अनुसार सबै कुरा केहि न केहि परिवर्तन भएकै छ । त्यसैले होला हामीले मनाउने चाड पर्व पनि अलि अलि परिवर्तन भएका छन् । हाम्रो देशमा मात्र होइन अरू र अन्तका चाडबाड पनि फेरिएका छन । संसारभरमा सबै कुराको परिवर्तनको गति बढेको छ । हामी पहिले कहिल्यै कल्पना समेत नगरिएका अनेक कुरा अहिले आत्मसात् गर्दैछौं र आफूलाई सजिला, रमाइला र महत्वपूर्ण नलागेका कुरा छाड्दै जाँदैछौं । यसलाई स्वभाविक पनि मान्नुपर्छ । तर समय अनुसार भन्दै मुल मर्म र पहिचान भने हराउन दिनु हुँदैन । हामीले समयमै ख्याल गर्नुपर्छ । आउँदा दिनहरूमा यो परिवर्तनको गति अझ झन् बढ्नेछ । हामी धेरै चाड पर्व मनाउँछौ । त्यसमा केहि मुख्य मुख्य चाड पर्व दशैं, तिहार, तिज लगायत छन् । यि सबैको आ–आफ्नै पहिचान छन् । तर बुझ्दै नबुझी मुख्य उदेश्य र मुल मर्म भने कहिल्यै मर्न दिनु हुँदैन । अरु भन्या समय र आवश्यक अनुसार परिवर्तन हुँदै जान सक्छ ।
अहिले पछिल्लो समयमा दशैंका पनि धेरै कुरा हामीले छाडेका छौं र कतिपय नयाँ कुरा ल्याएका छौं । त्यसैले दशैं पुरानो गोरेटो छाडेर नयाँ बाटो तिर हिंड्न थालेको छ । कति समयको माग हो भने कति नबुझी अनावश्यक ल्याइएका कुरा हुन सक्छन् । त्यसलाई बुझेर आवश्यक अनुसार गर्नु पर्ने हुन्छ । पहिले दशैंमा टाढा टाढाबाट सवारी साधन नहुँदा पैदल हिंडेर आउने र अहिले सवारी साधन चढेर आउँने कुरालाई परिवर्तन मान्नु हुँदैन ।
दशैंले अब परम्परागत हिसाबले दशैं नमनाउने क्षेत्र र समुदायहरूलाई पनि समेट्न थालेको छ । अब यो हिन्दूहरूको मात्र चाड रहेन । मुख्य रूपमा यो धार्मिक भन्दा बढी सांस्कृतिक र व्यवसायिक चाड हुँदै गएको छ । समय अनुसार सञ्चारमाध्यमहरूको विस्तार र प्रभावका कारण ‘सांस्कृतिक मूलप्रवाहीकरण’ पनि बढ्दो छ । दशै हाम्रो देशको सबभन्दा ठूलो आर्थिक गतिविधि हुने अवसर भएकाले यसले उद्यमी र व्यापारीहरूलाई सम्भवतः सबभन्दा धेरै प्रभावित पारेको छुन्छ। । व्यापारीहरू सबै धर्म र समुदायका हुन्छन । तर पनि यो पर्वलाई जानेर नजानेर बुझेर वा नबुझी मनाइरहेका हुन्छन् ।मान्छेहरूको आवतजावत, आवधिक बसाइँसराइ र सञ्चारमाध्यमहरूका कारणले गर्दा पनि सांस्कृतिक मूलप्रवाहीकरणले दशैंमा आएको हेरफेरले स्थान पाइरहेको छ। यो सम्बन्धित विषयका अध्येताहरूका लागि एकदमै चाखलाग्दो विषय हुनसक्छ । यसका अनेक मध्ये एउटा उदाहरण हुम्लाको दशैंलाई पनि लिन सकिन्छ । हुम्लामा दशैंको मुख्य विशेषता मानिने टीका लगाउने चलन थिएन । त्यहाँ टीकाका दिन सानाले ठूलालाई र ठूलाले सानालाई जमरा लगाएर आषिक लिने दिने चलन थियो। तर शहर पढ्न र काम गर्न गएका मान्छेहरुले जहाँ जे देखे त्यहाँबाट त्यही चलन ल्याउँदा आजभोलि जुम्लामा पनि टिका लगाउने चलन चल्न थालेको छ । जुम्लामा बरु नसक्दा मासु नखाँदा पनि ठूलो गुनासो हुन्न तर दशैंमा भात भने चामलकै खानुपर्छ भन्ने सबैको चाहना हुने गरेको छ । जुम्लामा दशैंको मिष्ठान्न भनेको चिउला (पुरी जस्तो परिकार) थियो तर अब सेलरोटीले प्रवेश पाएकोछ । घटस्थापनाका दिनदेखि अष्टमीसम्म बाजा बजाएर रमाइलो गर्दै खानपिन गरिने चलन छ । पछिल्लो समय दशैं यसरी फैलिएको मात्र होइन, खुम्चिएको पनि छ ।
परम्परागत हिसाबले दशैं मानिआएका समुदायहरूबाट दशैं बाहिरिएका उदाहरण पनि छन् । जुम्लामा दशैंको टीका औंसी (गाईतिहारे औंसी) सम्म लगाउने र तिहारको टीका पञ्चमीसम्म लगाउने चलन थियो भने आज त्यो घट्दै गएको छ । दशैं आउनुभन्दा दुई–तीन महीना अघिदेखि नयाँ लुगा जुटाउने र सिलाउने चटारो हुन्थ्यो । आजभोलि त्यो चलन नै लगभग हटिसक्यो । पहिला –पहिला जुम्लामा खुङपाङ, चुकफारा तिरबाट कपास ल्याई घरमै धागो कातेर खाँडीको कपडा बनाइन्थ्यो । तर आज जहाँ तँहि भनेको बेला कपडा पाइन्छ ।
सडक नआउँदासम्म लुगाफाटो किन्न तीन÷चार दिन हिँडेर शहर बजारसम्म जान्थे । तर अहिले गाडी चल्न थालेपछि पनि यस्तो छैन । अहिले केहि समय यता केहि ब्यक्ति विशेषले दशैं हाम्रो होइन भनेर नमनाउने गरेका छन् । हिजो बाउबाजेले दिने आसिक सा¥है गहकिलो हुन्थे । अहिले ठूलाबडाको आशीर्वाद लिने–दिने चलन नै हराउँदै गयो । हितेरी मितेरी पनि हराउँदै गइरहेको छ । हिजो टिका लगाउँदा यस्तो आशीर्वाद दिइन्थ्यो।
तर आजभोलि खासै यसरी आशीर्वाद नै दिइन्न ।
नुहाउँदा केश नझरोस्, हिंड्दा ठेस नलागोस्
दुबोजस्तो मौलाउनू,
सन्तानले डाँडाकाँडा ढाकून्
मागिखाने नभएस्, दिइखाने भएस्
सय हजारमा मान्छेले चिन्ने हुनू
राजा काजी दाहिना हुन्
देउता दाहिना हुन्
दशैं हिन्दुहरुको चाड भनेता पनि अरु धर्म मनाउनेले पनि उत्तिकै रुपमा मान्ने गरेका छन् । यो सबै सारा नेपालीको राष्ट्रिय चाड हो । जुनसुकै धर्म, विशेषले पनि दशै मनाउन थालेका छन्। अहिले सबै जातजाति हिन्दूहरूकहाँ जाने, नाचगानमा भाग लिने, रमाउने सबै गर्दछन । तर पहिला– पहिला समाजमा अलि भेदभाव थियो, अहिले मेटिंदै गएको छ । हिन्दूहरुले अरु धर्म मान्ने परिवारलाई निम्ता गरि खानपान गराउने गरिन्थ्यो भने अहिले यि सबै कुराहरु अलि हटेर गएका छन् । दशैंमा जति पनि किसिमका पीङ हालिन्थे । सबैमा मुसलमान, बुद्धिष्टको बराबर अग्रसरता हुन्थ्यो ।
नवरात्रिमा हिन्दूहरूले गर्ने दुर्गा भवानीको पूजा आराधनाको निश्चित विधिविधान हुन्छ । तर दशैंको कुनै विधान छैन । टीका लगाउनेले दशमीका दिन जसरी टीका लगाइदिए पनि हुन्छ । एकदिनदेखि जति दिन पनि टीका लगाए हुन्छ । दशैं सबैका लागि पारिवारिकता, मित्रता, उमङ्ग र लचिलोपनको पर्व भएको छ ।, टीका, जमरा, नयाँ लुगा, मासु, केरा वा अन्य सबै कुरा तपसिल भएका छन् । नौ दिनसम्म नव दुर्गा माताको पुजा गरि दशमीका दिन टिका र जमारा लगाइन्छ भने टिका लगाउने क्रम भने पुर्णिामा दिनसम्म चलिनै रहेको हुन्छ । दशैं अन्य पहाडी भेकमा पनि मोटामोटी उस्तै नै हुने रैछ ।
अहिले पछिल्लो समय दशैंमा गरिने र सुनिने अधिकांश कुरा अब कहिल्यै नफर्किने बाटो लागेर गए । गाउँका घरहरूको ढाँचाकाँचामा आएको परिवर्तन, शिक्षा, बसाइँसराइ, संयुक्त परिवारहरूको विघटन, यातायात, सञ्चार, बजार – हामीले रोजेकै कुराले ती पुराना कुरा समाप्त हुँदै गएका हुन् ।
पहिलेका दशैं र अहिलेको दशैं फेरिनैपर्ने भएकाले फेरिएको हो । वास्तवमा त्यसबखत हामीसित रमाउने अरू केही साधन र माध्यम नभएकाले मात्र दशैंले त्यति ठूलो महत्व पाएको थियो । अहिले दशैंको महत्व घटेको होइन, सन्तुलित भएको मात्र हो । पहिला सरसामानको मोल सस्तो त थियो, तर ती सस्ता सामान किन्ने पैसा जुटाउन भने असाध्य गाह्रो थियो ।
त्यस बेलासम्म मान्छेका सन्तान धेरै हुन्थे । झैझगडा नपरुञ्जेल परिवार संयुक्त रहन्थे । धेरथोर खेतीपाती प्रायः सबैको हुन्थ्यो र त्यो पनि नहुनेहरू अर्काका घरमा सस्तोमा श्रम बेच्थे र खाने कुरा जुटाउँथे । घरका सदस्यहरूको अथक् र मूल्याङ्कन नगरिने श्रम र सस्ता खेतालाका भरमा धेरैका भकारीमा टन्न अन्न भरिन्थ्यो र त्यसलाई आत्मनिर्भरता भनिन्थ्यो । वास्तवमा जो श्रम गर्न सक्थे, तीमध्ये धेरैसित गरिखाने जमीन हुँदैनथ्यो र जोसित प्रशस्त जमीन हुन्थ्यो, प्रायः ती श्रम गर्दैनथे । उसबेला हरेक मान्छेको दशैं फरक–फरक किसिमले आउँथ्यो । बा–काका, दाजुहरूको दशैं रामरउस गर्ने, फुर्सदमा दुईचार हात तास पनि खेल्न भ्याउने खालको हुन्थ्यो भने आमा, काकी, भाउजूहरूको दशैं भने मड्केनाबाट माटाको भारीसहित निस्केर घरमा पस्थ्यो । रातोमाटो, कमेरो, गोबर र मोसो – घर पोत्ने काम मूलतः आमाहरूकै हुन्थ्यो । आमाहरू थाकेको हामी थाहा पाउँदैनथ्यौं । सम्भवतः उहाँहरू सित पनि आफू थाकेको कुरा थाहा पाउने पुगिसरी थिएन ।
ढिकीको काममा पुच्छ्रामा लाग्ने लाठेहरू त हुन्थे, तर आफैं समेत लागेर कहिले ओख्लामा, कहिले पुच्छ्रा मा नाचीनाची काम गर्नुपर्थो । एक मुरी, पच्चीस पाथीसम्म चिउरा कुट्न बिहान ३–४ बजेदेखि नै ढिकीमा खट्नु पर्दथ्यो । सबै कामबाट फुर्सद निकाल्न सके दशैंको हाट भर्न बजार जाने छूट र टीकाका भोलि–पर्सिपल्ट माइत जाने छुट्टी घरका महिलालाई मिल्थ्यो, त्यो पनि सासूले तोकेका दिनसम्मका लागि मात्र हुने गर्दथ्यो ।
त्यस ताका घरहरूको ढाँचा पुरानो थियो । धेरै सन्तान पाएर बैंसमै बुढिएका महिलाहरू दिनको १४ देखि १८ घन्टा अथक् श्रम गर्थे । आज उहिलेको घरमा भर्खर पोतेको रातोमाटो र कमेरोको सुगन्ध खोज्ने नाकहरूले आफ्ना आमा हजुरआमालाई सोधे हुन्छ, दशैं त्यसबेला कति कठिन थियो ।
अहिले आमा वा हजुरआमा पुस्तामा रहेका ती महिलाहरूका लागि दशैं मरुञ्जेल काम गरेर डराई–डराई केही दिन माइत जान पाउने अवसर मात्र थियो । हरेक हिसाबको मुल्यांकन गर्ने हो भने अहिलेको दशैंभन्दा पहिले कै दशैं रमाइलो लाग्दछ ।
अहिले संयुक्त परिवारहरूको विघटनले सबैको, खासगरी महिलाहरूको इच्छा र चाहनालाई केही हदसम्म सम्बोधन गर्ने बाटो खोलेको छ । फोन, सडक र झेलुङ्गे पुलहरूले माइती मावलीको दूरी र दुर्गमता घटाएका छन् । घरमा सिमेन्ट, जस्तापाता, पोलिथिन पाइप आदिको प्रयोगले महिलाको श्रम उल्लेखनीय रूपमा घटेको छ । चीनबाट आउने सस्ता तयारी लुगाले लुगा फेर्न दशैं नपर्खिनुपर्ने भएको छ । एलपी ग्यासले त दाउरा खोज्ने, बोक्ने, चुलो फुक्ने र आँसु बगाउँदै खोक्नेसम्मका काम घटाएको छ । यसले केहि फाइदा भएको छ भने केहि मात्रामा घाटा नि भएको छ । अहिले धेरैले नै सजिलो भएको छ । पैसा हुनु प¥यो सबै उपलब्धि हुन्छ । बजारहरू नजिक सरेका छन्, सडकहरू तन्केका छन्, बिजुली बत्ती चम्केका छन् । चाहिए जति चिउरा र पीठो आनन्दले चाहिने जति किन्न पाइन थालेको छ । टेलिभिजनमा देखेजस्तो संसारको कल्पना गर्ने अधिकार सबैलाई प्राप्त भएको छ । हिजो ६ महीना प्रौढशिक्षा कक्षामा धाएर कखरा चिन्ने आमाका छोरीहरू कुनै तालीम विना फेसबूकमा सेल्फी अपलोड गर्न सक्ने भएका छन् । यो सबै समयको खेल हो माग हो अब हामी जहाँ जे भए पनि समयले चाहे पछि कहिँ कसैले छेकेर छेकिन्न।
उसबेला हरेक मान्छेको दशैं फरक फरक किसिमले आउँथ्यो। अहिले सबैको दशैं लगभग उस्तै किसिमले आउँछ। त्यसैले धेरैलाई अहिलेको दशैं मनपर्छ । अहिले नेपाली मध्यमवर्गमा पनि दशैंमा घुमफिर गर्ने चलन शुरू भइसकेको छ । लोग्नेमान्छे पनि घरको काममा सघाउँछन् ।परिवारका सबै मिलेर तास खेल्छन्, फिल्म हेर्न जान्छन् । हिजो सबैले खाइसकेपछिको भाँडो चाटेर मध्यरातमा घरधन्दा सक्न कुनै बुहारीलाई कर छैन । आज सँघैं बसेर सबैले खाना खान्छन् । सानो छँदा कुनै जिम्मेवारी विना चाड मनाउँदाका मीठा स्मृतिहरू सबैलाई प्यारा हुन्छन् । तर हुर्किएपछि विवेकका आँखाबाट हेर्दा ती सबै कुरा रमाइला नहुन सक्छन् । अहिलेका बालबालिका पनि बीस वर्षपछि त्यसबेलाको दशैं भनेर अहिलेको दशैंको बयान गर्दै रमाइरहेका हुनसक्छन् । त्यसैले पनि दशैं पहिले जस्तो भएन भनेर दुःखमनाउ गर्नुको कुनै अर्थ छैन । दशै सधैं दशै नै हो । हामीले जसरी मनायो त्यसरी नै मनाइने हो । तर जहाँ जे नै भए पनि दशै अनावश्यक तडक भडक नगरि मनाउनु पर्छ ।।दशै रमाइलो गरि मनाइ सकेपछि अनावश्यक तनाब हुनु हुँदैन । जसले जहाँ जे नै भने पनि आफ्नो परम्परा, रितिरिवाज, संस्कृतीलाई बचाउनु पर्छ । यहि कुरा भावी पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ ।
सबै कुरा जस्तै दशैं आफैं फेरिएको होइन । यो त समय अनुसार आवश्यकतामा हामीले नै मिलेर थोरै परिवर्तन गरिएको हो । समयले माग्दा मुल मर्म र आशय नमर्ने गरि अझ फेरिंदै जान्छ । यसमा हामीले अनावश्यक चिन्ता लिनु नि पर्दैन। तर अनावश्यक अरु नै कुराहरु आए र वास्तविकता तोडफोड हुन थाल्यो भने बल्ल एक्सनमा जानुपर्छ । –नव क्षितिज साप्ताहिकबाट









सम्बन्धित समाचार