पनौती, यो वर्षको बाल दिवससँगै पनौती नगरपालिका बालश्रममुक्त नगर बनेको छ । शनिबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनौती नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरेका हुन । श्रममा बालबालिकाको प्रयोगले कयौँ बालबालिकाहरू आधारभूत तथा मौलिक अधिकार, शिक्षा, स्वास्थ्य, सहभागिता र परिवारसँग बस्ने अधिकारबाट वञ्चित भएको भन्दै नगरले बालश्रममुक्त नगर घोषणा गरेको हो ।
बालश्रममुक्त नगर घोषणा गर्दै बागमती प्रदेशका मुख्यमन्त्री लामाले बाल अधिकार सुनिश्चितताको लागि बालश्रममुक्त घोषणा गर्नु महत्वपूर्ण कदम भएको बताए । बागमती प्रदेशका एक सय १९ वटै स्थानीय तहलाई बालमैत्री र बालश्रममुक्त बनाउने प्रदेश सरकारको नीति र कार्यक्रम रहेको उनले बताए । १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूलाई श्रममा लगाउन नपाइने व्यवस्था कानुनमा छ । बाल अधिकार महासन्धि १९८९ मा नेपालको तर्फबाट हस्ताक्षर भई नेपालको संविधान, बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना, ऐन कानुनहरूमा बाल अधिकारका सवालहरूलाई महत्वका साथ उठाइएको छ ।
पनौती नगरपालिकाको विकास अभियानमा राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरेर बालश्रममुक्त नगर घोषणा गरिएको नगरप्रमुख रामशरण भण्डारीले बताए । यसअघि विभिन्न मितिमा १२ वटै वडा बालश्रममुक्त घोषणा भएपछि शनिबारबाट पनौती ‘बालश्रममुक्त नगरपालिका’ घोषणा गरिएको भण्डारीले जानकारी दिए । यसअघि नै नगरपालिकाले ३९ सूचक पूरा गरेर बालमैत्री स्थानीय तह घोषणा भएको थियो । बालमैत्री नगरको दिगोपनाको लागि बालश्रममुक्त नगरपालिका घोषणा भएको हो । नगरप्रमुख भण्डारीका अनुसार यसबीचमा बालश्रममा रहेका चार बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ, अन्यत्रका चार जनालाई घर फिर्ता गरिएको छ भने २ जनालाई बालगृहमा पुर्नस्थापना तथा बालश्रममा रहेका ९ जनालाई स्थानीय विद्यालयमा भर्ना गरिएको छ ।
उप–प्रमुख गीता बञ्जाराले नगरपालिकाले बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन । टोल–टोल र वस्तीस्तरमा सञ्चालित कार्यक्रमबाट बालबालिकाको व्यक्तित्व, क्षमता विकासमा धेरै परिवर्तन आएको उनले बताइन् । बालश्रममुक्त नगर घोषणासँगै जिम्मेवारी पनि थपिएको उनले बताइन । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले श्रममा बालबालिकाको प्रयोगले कयौं बालबालिकाहरु आधारभुत तथा मौलिक अकिार, शिक्षा, स्वास्थ्य, सहभागीता र परिवारसँग बस्ने अधिकारबाट बञ्चित हुने बताए । बालबालिकाको अधिकार संरक्षणका लागि बालश्रममुक्त नगर घोषणा महत्वपुर्ण रहेको उनले बताए ।
बालश्रम निवारणका लागि नगरपालिकाले अन्तराष्ट्रिय श्रम संगठन आइएलओ सँग सहकार्य गरिरहेको बालमैत्री सम्पर्क व्यक्ति केशव बञ्जाराले बताए । यसअघि सरोकारवालासँग अन्तरक्रिया, तथ्यांक संकलन, होटल पसल, कृषि फर्म, वर्कशपको निरन्तर अनुगमन, एक घर, एक मिनेट कार्यक्रम सञ्चालन, बालश्रम प्रयोग नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर लगायतका कार्यक्रम १२ वटै वडामा सञ्चालन गरिएको थियो । –नव क्षितिज साप्ताहिकबाट