पनौती, पनौती–६ गोरखनाथमा रहेको आकाशविनायकमा शनिबार गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको छ । आकाशविनायकमा विहानैदेखी पूजा तथा प्रसाद ग्रहण र साँझ आरती गरेर गणेश चतुर्थी मनाइएको हो । सोहि दिन आकाशविनायक संरक्षण समितिको साधारणसभा समेत सम्पन्न भएको छ ।
साधारण सभाबाट आगामी कार्यकालका लागि पुनः रामकुमार बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्वत निर्वाचित गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मोहन कुमार बस्नेत, उपाध्यक्षमा दामोदर बस्नेत, सरला बस्नेत, महासचिवमा हरिशरण कार्की, सचिवमा बद्री बस्नेत, सह–सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा कुमार बोगटीलगायत चयन भएका छन् ।
आयोजनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो । आज विहानैदेखि सुरु भएको विशेष पूजा साँझसम्म जारी रहने आकाशविनायक संरक्षण समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिए ।
पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भिमप्रसाद आचार्य, भागवत धर्म संरक्षण समितिका संरक्षक अच्युत प्रसाद भट्टराई, पण्डित हरिहर सुवेदी, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसी, गोरखनाथ सचिवन वन उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख भण्डारीले साँस्कृतिक सहरका रुपमा समेत परिचित पनौतीको धार्मिक, सास्कृतिक र पर्यटकीय क्षेत्रको विकाससँगै लैजाने गरी योजना बनाएको बताए । आकाशविनायक संरक्षण समितिका अध्यक्ष राम कुमार बस्नेतले गोरखनाथ क्षेत्रको विकासका लागि काम गरिरहेको बताए । पञ्चधातुबाट निर्मित ९ फिट अग्लो आकाशविनायक, कार्यविनायक, कुमार, रिद्धि, सिद्धि, नाटेश्वर महादेव सहित कलात्मक ढुंगे धारा, प्रतिक्षालय सहित आकर्षक बगै्रचा सहित निर्माण गरिएको बताए ।