बनेपा, विसं १९५९ देखि बनेपामा शुरु ऐतिहासिक कन्या–पूजा आज बनेपामा मनाईदै छ । जहाँ रजस्वला नभएका कन्यालाई पुजा गर्ने गरिन्छ । सनातन कन्या पूजा प्रवन्ध समितिले सबै जात, समुदाय, बर्ग र क्षेत्रका रजश्वाला नभएका १० वर्ष भन्दा मुनीका सबै कन्याहरुलाई पुज्ने गरी तयारी गरेको छ ।
प्राय बनेपामा मात्रै गरिने यो पुजा अहिले केहि मात्रामा अन्य स्थानमा पनि गर्न शुरु भएपनि बनेपामा जस्तो विशेष भने हुने गरेको छैन । रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ । विना टिकट स्वतः स्फूर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा काभ्रेपलाञ्चोक तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब दश हजार कन्या सहभागी हुने गरेका छन । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । उनीहरुलाई पुजा गर्न धेरै बनेपाली आउने गर्छन । यसरी कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ ।
त्यस दिन कन्यालाई पुज्न काठमाडौं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको पाईन्छ । कन्या–पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन छ । सनातन कन्या पूजा प्रबन्ध समितिले हरेक वर्ष कन्या पूजाको व्यवस्थापन गर्दै आएको छ । बनेपामा वर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । एउटा टिकलवाला कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ । जुन शनिबार भैसकेको छ भने आज बिनाटिकट, स्वतःस्फुर्त गरिने कन्या–पूजा रहेको छ । –फाईल तस्विर