एक वर्षभन्दा लामो समयदेखि क्यान्सर रोगको उपचारमा रहेका लोकप्रिय हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार एउटा खुला पत्र लेखेका छन् । गाईजात्राको पूर्व सन्ध्यामा यी कलाकारले कलाकर्मीमार्फत प्रधानमन्त्रीलाई खुला पत्र पठाएका छन् । यस्तो छ पत्रमा लेखिएको सन्देशः

श्री सम्माननीय प्रधानमन्त्री
केपी शर्मा ओली ज्यू,
प्रधानमन्त्री निवास, बालुवाटार, काठमाडौं

विषयः स्वास्थ्य उपचारमा जनताको पहुँच र महँगो उपचारमा राज्यको जिम्मेवारी ।

श्रीमान् प्रधानमन्त्री ज्यू,

यो पटक समेत गरेर तपाईं चार पटक नेपालको प्रधानमन्त्री भै सक्नु भएको छ । यसपटक जनताले तपाईँबाट विगतको भन्दा धेरै आशा राखेका छन् । नेपालमा धेरै पटक, धेरै ठूला राजनीतिक परिवर्तनहरु भए । देशमा गणतन्त्र पनि आयो, तर अहिलेसम्म जनताले राम्रो स्वास्थ्य उपचार पाउन सकेका छैनन् ।

देशमा सरकारी अस्पतालको अवस्था नाजुक छ । सबैसँग नीजि अस्पतालमा उपचार गर्ने सामर्थ्य छैन । हरेक सरकारी अस्पतालमा जनताको लामो लाइन हुन्छ । उपचारको पालो पर्खँदा–पर्खँदै कति जनताको ज्यान गइसकेको हुन्छ, गैरहेको छ । हाल नेपालमा पनि अप्रत्यासित रुपमा बढिरहेको क्यान्सर रोगका कारण हजारौँ बिरामी अस्पतालमा बेड नपाएर, उपचारको पालो नपाएर अस्पतालमै छट्पटाएर बस्नु परेको छ । क्यान्सरको उपचार लामो र महँगो भएका कारण जनतासँग उपचार गर्ने पैसा छैन । राज्यले दिएको कतै एक लाख, कतै पचास हजार रुपैयाँले औषधी किन्न पनि पुग्दैन । नेपालमा एक लाख रुपैयाँको स्वास्थ्य बीमा पनि त्यति प्रभावकारी छैन र धेरै झन्झटिलो छ ।

प्रत्येक दिन क्यान्सर उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जाने नेपाली बिरामीहरुको लाईन दिन प्रतिदिन बढिरहेका छ । उनीहरुको आफ्नै गुनासो छ– ‘नेपालमा क्यान्सरको राम्रो अस्पताल भए विदेशमा उपचार गर्न किन जानू पर्थ्यो ?’ अहिलेको तथ्याङ्क हेर्दा अबको दश वर्षपछि हरेक घरमा एक जना क्यान्सर रोगी हुनेछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । त्यसपछि यो अवस्था अझै भयावह भएर जानेछ ।

प्रधानमन्त्रीको रुपमा यहाँले साँच्चै अब देश र जनताको लागि काम गर्ने हो भने स्वास्थ्य, शिक्षा र रोजगारका लागि नीति निर्माण गरेर आजैदेखि किन थालनी नगर्ने ? नेपालमा क्यान्सर उपचार हुने सरकारी अस्पताल थोरै छन् । त्यहाँ गएर हेर्नुस प्रधानमन्त्री ज्यू, अवस्था कस्तो छ जनताको दुर्दशा ? चुनावमा भोट हाल्ने जनता पनि तिनै हुन् । जसलाई जो प्रधानमन्त्री भएपनि जनतालाई कागलाइ बेल पाकेर के ? भने जस्तो भैसक्यो ।

जनताको स्वास्थ्यको जिम्मा सरकारले लिनु पर्छ । क्यान्सरको उपचार खर्च किमो, रेडिएशन र औषधि निकै महँगो पर्छ । जनतालाई अनुदान दिएर झारा टार्नुभन्दा उपचार गरेर जनताको पैसा सकिएपछि राज्यले उपचार गर्ने जिम्मा लिनु पर्छ, नत्र जनताले रगत पसिना बगाएर कर तिरेको के मन्त्री र कर्मचारीलाई पाल्न मात्र हो त प्रधानमन्त्री ज्यु ? म देशको एउटा कलाकार हुँ । विगत एक वर्षदेखि म क्यान्सरको उपचार गरिरहेको छु । म भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेको छु । त्यहाँ दिनका दिन खचाखच बिरामी आउँछन्, बिरामी राख्ने बेड छैन । रेडिएशनको लागि छ महिनासम्म कुर्नु पर्छ, किमो गर्न बेड पाईँदैन । उपचार गर्ने पैसा नपाएर कति बिरामी काल पर्खिएर बस्नु परेको छ ।

हामी कलाकार सधैँ विसंगति, विकृतिमाथि व्यंग्य प्रहार गरेर विकाश र सुशासनका लागि खबरदारी गरिरन्छौं । म पनि एक वर्षअघि सम्म त्यसै गरिरहेको थिएँ । तर आज म आफैँ बिरामी भएर सरकारको सहयोगको आशामा बाटो हेरि रहेको छु । थप उपचारका लागि दिल्ली पनि गएर आएँ । अहिलेसम्म लाखौँ खर्च भैसक्यो । अझै कति खर्च लाग्ने हो थाहा छैन । म त एउटा प्रतिनिधि पात्र मात्र हुँ प्रधानमन्त्रीज्यु । धेरै नेपाली जनताको अवस्था बारेमा तपाईं जानकार हुनै पर्छ ।

अहिलेको सरकारको प्रमुख प्राथमिकता पनि जनताको स्वास्थ्यप्रति नै हुनु पर्छ । गर्न चाहे नसकिने केही छैन । देशमा भएका सरकारी अस्पताललाई व्यापक सुधार गरेर अन्य ठाउँमा पनि क्यान्सर अस्पतालहरु स्थापना होस र सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुगोस् । उपचार नपाएर कोहि मर्न नपरोस् । यो खुला पत्र प्रधानमन्त्रीज्युलाई लेखेको छु, सम्बन्धित निकायले सम्बन्धित ठाउँमा पुर्याएर यसको जवाफ प्रधानमन्त्रीज्यूबाट आउने छ भन्ने आशा व्यक्त गर्दछु । जनताको जय होस् ।

प्रेषक–घनश्याम गौतम (नक्कली प्रचण्ड) जन्मः गौरादह, झापा, हालः सूर्य विनायक–५, कटुञ्जे, भक्तपुर –नव क्षितिज साप्ताहिकबाट