बनेपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे जिल्ला समितिले दोस्रो स्थापना दिवस साता व्यापी कार्यक्रम गरेर मनाएको छ । असार १ देखि ७ गतेसम्म वडादेखि जिल्लासम्म रक्तदान, सरसफाई, वृक्षारोपण र अन्त्यमा धुलिखेलमा काभ्रेका सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइ चियापान कार्यक्रम गरेको थियो ।
धुलिखेलमा जिल्ला सभापति प्रवीण कुमार ढकालको अध्यक्षतामा भएको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा ढकालले ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी रहेको बताए । एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले नयाँ शक्तिको रूपमा स्थापित हुँदै गर्दा नयाँपनको आभास दिन सक्नु पर्ने बताएका थिए । त्यस्तै नेकपा (एस) काभ्रेका उपाध्यक्ष रघुबर चौप्रधानले रास्वपा नेपाली जनताले खोजे अनुसारको पार्टी बन्नु पर्नेमा जोड दिए ।
रास्वपाका बागती प्रदेश समिति सदस्य बसुनारायण श्रेष्ठ, रास्वपा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का सभापति तारा बहादुर कुँवर र क्षेत्रीय सदस्य जिएन सापकोटाले जिल्लामा पार्टी प्रति उत्साह थपिएको भन्दै अब आफ्नै पार्टीभित्रका नेताहरूको समेत खबरदारी गर्न डराउन नहुने बताएका थिए । जिल्ला सभापति ढकालका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको १३ मध्ये ११ वटा पालिका स्तरीय पार्टीको समिति गठन भैसकेको छ । त्यसैगरी १३५ वटा वडा मध्ये ६३ वटा वडा स्तरीय समिति गठन भएका छन् । अब छिट्टै पालिका र वडा स्तरीय अधिवेशन गरिने सभापति ढकालले जानकारी दिए ।