धुलिखेल, झुटो विवरण पेश गरि लिईएका ११ थान नक्कली नागरिकता रद्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले झुटो विवरण पेश गरि बनाईएको एक चिनियासहित ११ जनाको नक्कली नागरिकता रद्ध गरेको हो ।

तत्कालिन अधिकृतद्धय झपेन्द्रराज खरेल र भुपेन्द्र पाण्डे तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । कर्मचारीको मिलेमतोमा जारी भएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाईएको छ ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलका अनुसार चिरञ्जीवी दुलाल, श्याम भण्डारी, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, निमा तामाङ, पासाङ तामाङ, गोविन्द भट्टराई, रञ्जिता थापा, राजु गुरुङ, सीता पापने र तेन्जिङ सोनाम तामाङको नाममा रहेको नागरिकता रद्ध गरिएको हो । त्यसमध्ये निमा तामाङको नाममा नागरिकता लिने व्यक्ति चिनिया नागरिक रहेका छन् । चिनिया नागरिक छिरिङलाई निमा तामाङ नाम राखेर झुटो विवरण पेस गरि २०७४ पुस २० गते काभ्रे जिल्ला प्रशासनबाट वंशजको आधारमा नागरिकता प्रदान गरिएको खुलेको थियो ।