बनेपा, नेपाल कम्यूनिष्ट पार्टी (एमाले) काभ्रे जिल्लाको ११ औं जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा तयारी पनि तिव्र स्पमा भैरहेको छ । अधिवेशन जेठ २८, २९ र ३० गते ऐतिहासिक नगरी धुलिखेलमा भव्यताका साथ सम्पन्न हुदैंछ ।
जसका लागि प्रतिनिधी छनौट समेत भैसकेको छ । शुक्रबार सबै पालिकामा प्रतिनिधी छनौट भएका छन भने शनिबार जनबर्गिय संगठनले प्रतिनिधी छनौट गरेका छन् । सबैको विवरण प्राप्त गरी अपडेट कार्य भैरहेको जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए । १ सय ३५ वटा वडा र २१ वटा जनबर्गिय संगठनबाट प्रतिनिधी छनौट हुनेछन् । ७ सय भन्दा धेरै प्रतिनिधी अधिबेशनको बन्द सत्रमा सहभागि हुनेछन् । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रमको प्राय तयारी अन्तिम चरणमा पुगेको पनि सचिव भुर्तेलले जानकारी दिए । अधिबेशनको लोगो समेत सार्वजनिक भएको छ ।
जिल्ला अधिबेशन पार्टी जीवनको नियमीत कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्वृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्ने महत्वपूर्ण अवसर भएकोले जिल्ला अधिवेशनलाई भब्यतापूर्वक सम्पन्न गर्न सिंगो पार्टीपंक्ती र आम काभ्रेली जनसमुदायलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटीले अपिल समेत गरेको छ ।
अधिवेशन तयारीका लागि पार्टी अध्यक्ष अशोक व्याञ्जूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, सचिव राजन भुर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति, उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको छ । अधिवेशनको लागी मञ्च र खाना ब्यवस्थापनको संयोजन पार्टी धुलिखेल नगर कमिटीले गर्नेछ ।