बनेपा, विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी केहिदिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
विभागले जारी गरेको तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिनका अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको बुलेटिनमा भनिएको छ ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक–पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ । –नव क्षितिज साप्ताहिकबाट