बनेपा, बनेपा र पलाञ्चोकमा चण्डीपूर्णिमाका अवसरमा मनाइने ऐतिहासिक जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने बनेपाको चण्डेश्वरी र पलाञ्चोक जात्रा भव्य रुपमा सम्पन्न भएका हुन् ।
विशेष गरी स्थानीय नेवार समुदायले मनाउने जात्रा बनेपालीका लागि महान् चाड दसैँ जस्तै मनाईन्छ । जात्राको पहिलो दिन बुधबार साँझ हनुमान ढोकाबाट ल्याइएको तरबार (खड्ग)सँगै चण्डेश्वरी मन्दिरभित्र रहेका पिङ्ग देवताहरुलाई १२ वटा बोका बलि दिइ ‘सरकारी पूजा’ गरेपछि औपचारिकरुपमा जात्रा सुरु भएको थियो । भोलिपल्ट बिहानै हजारौँ स्थानीयको सहभागितामा मत पूजा (चिराग यात्रा)गरिएको थियो । सोही दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याएका थिए । खटलाई मन्दिर नजिक पुरयाएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ । यस्तै रथ बोकेर फर्कने क्रममा हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउने परम्परा रहेको छ । तेस्रो दिन साँझ लायकुबाट वकुटोल हुँदै मूर्तिलाई सानो खटमा राखेर पुनःचण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्दछ ।
पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णिमाका अवसरमा लागेको ठूलो मेला पनि सम्पन्न भएको छ । नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरका रुपमा परिचित पलाञ्चोक भगवतीको मन्दिर वि.सं.४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापना भएको हो ।
भगवती मन्दिरमा परम्परा तथा संस्कृतिको संरक्षणार्थ प्रत्येक वर्ष जात्रा मनाइँदै आइएको छ । दर्शनार्थी तथा भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यस वर्ष पनि जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियोे । जात्राको पहिलो दिन (चण्डीपूर्णिमा)को अघिल्लो दिन साँझमा बत्ती बाल्ने, दोस्रो दिन (मुख्य दिन) पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गरिएको थियो ।