बनेपा, बागमती प्रदेश सरकारले नेपाल भाषा (नेवारी) र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा शुभारम्भ गरिएको खुशीयालीमा बैशाख २४ गते काभ्रेको बनेपामा दीप प्रज्वलन गरिने भएको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल काभ्रेको आयोजनामा बैशाख २४ गते एक कार्यक्रमका बीच दीप प्रज्वलन गर्ने महासंघको पदाधिकारीको शनिबार बसेको बैठकले निर्णय गरेको हो ।
बैशाख २४ गते बेलुका ४ बजे बनेपा चारदोबाटोमा आ–आफ्नो भेषभूषा र ब्यानरसहित उपस्थित हुन महासंघका अध्यक्ष उदय कायस्थले अनुरोध गरेका छन ।
बैठकमा महासंघका प्रदेश सचिव कान्छाराम तामाङले २०८१ मा २०८१ जना सदस्य बनाउनु पर्ने र काभ्रे जिल्लाका १३ वटै स्थानिय तहमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी महासंघका काभ्रे जिल्ला इन्चार्ज संगम लामाले बागमती प्रदेश सरकारको निर्णय स्वागत योग्य भएको तर निर्णयलाई कार्यान्वयन गर्न चुनौती भएकोले कार्यान्वयन गर्न सबै सरोकारवाला लाग्नु पर्ने बताउनु भयो ।
बागमती प्रदेश सरकारले बागमती प्रदेशमा नेपाल भाषा (नेवारी) र तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुशियालीमा बैशाख २४ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।