बनेपा, अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको काम भइरहदा सर्वसाधारणले धुलो र हिलोको समस्या भोगीरहेका छन भने खानेपानीका पाइप र ढल व्यवस्थापनमा भने समस्या परिरहेको छन । बनाउन भत्काएको बाटोमा भएको हिलो धुलोका कारण यात्रु र सर्वसाधारण भने कहिले बनिसक्ला भन्न भालेका छन ।

तीन वर्षमा बनी सक्ने गरी २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको हो ।

विशेष गरी बनेपाको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको हो । धुलिखेल नगरमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको बताईएको छ ।

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको थियो ।