बनेपा, यो वर्षको एसईई परीक्षा काभ्रे जिल्लामा ३ दिनसम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहिबारबाट शुरु भएको परिक्षामा हिजोसम्म अंग्रेजी, नेपाली र गणित विषयको परिक्षा सकिएको छ ।

देशभर पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् । काभ्रे जिल्लाबाट भने ५ हजार ९ सय ५६ विद्यार्थी परिक्षामा सहभागी हुनु पर्नेमा ९१ जना गयल भएको शिक्षा समन्वय इकाई काभ्रेका प्रमुख उप सचिव देवका ढकालले जानकारी गराएकी छन । ९१ जना विद्यार्थी अनुपस्थित मध्ये ४६ जना छात्रा छन् भने ४५ जना छात्र छन्
पुर्णसञ्जिवनी मावी धुलिखेलमामा ३ जना दृष्टिविहिन विद्यार्थी र अन्य अपाङता भएका १५ जनाले यो वर्ष परीक्षा दिएका छन । जसमा ५ छात्रा र १० छात्र छन् । ग्रेडबृद्धीका लागि ६ जनाले परीक्षा दिएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सबै केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भैरहेको बताएका छन ।
विद्यार्थी संख्याका आधारमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक राखिएको भएपनि सेवासुबिधा भने सारै कम रहेको महेन्द्र मावि साँगामा केन्द्राध्यक्ष राजकुमार आचार्यले गुनासो गरे । ३ घण्टाभन्दा बढी समय खट्नु पर्ने शिक्षकलाई पारिश्रमिक भने ३ सयभन्दा कम रहेको आचार्यको भनाई थियो । यो केन्द्रमा ३ विद्यालयका ३ सय १६ विद्यार्थी सहभागी छन । –नव क्षितिज साप्ताहिकबाट