यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका जिल्लामा पठाइसकेको छ । ७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनुभन्दा केही समय अगाडि मात्रै सुरक्षासहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइनेछन् । त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको छ । प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ ।
यो पटक नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । जापानमा परीक्षा सञ्चालनका लागि बोर्डबाट दुई जना जाने नीतिगत व्यवस्था छ ।
पास हुन ३५ प्रतिशत अनिवार्य
यो वर्ष बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताए ।
न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताए । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए । २ वटाको छुट्टा छुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टा छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।