२९ गते मङ्गलबार हुने राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनकालागि आज फागुन २८ गते सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । मतदान फागुन २९ गते हुने छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालका अनुसार दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गर्दा फागुन २८ गते उम्मेदवारी दर्ता गर्ने सहमति भएको हो । उहाँको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य छन् ।
राष्ट्रिय सभाले आफ्नो सम्भावित कार्यतालिका सार्वजनिक गर्दा फागुन २९ गते अध्यक्षको निर्वाचन हुने उल्लेख गरेको थियो । फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको छवर्षे पदावधि सम्पन्न भएको थियो । सोसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएकाले राष्ट्रिय सभाले अध्यक्ष चयनको प्रक्रिया अगाडि बढाउन थालेको हो । रिक्त हुन पुगेका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भएका छन् । बाँकी एक सदस्य महिला मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नुहुने छ । अध्यक्ष नहुँदा उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाको बैठक तथा नियमित कारबाही सञ्चालन गर्नुभएको छ ।








