आज माघे संक्रान्ती अर्थात् माघ महिनाको पहिलो दिन । विक्रमसंवत् वर्षका १२ ओटा महिनाहरुमध्ये ‘माघ’ हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजकै दिनबाट सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकोले आजको दिनलाई माघे सक्रान्ती, तिलुवा संक्रान्ती वा मकर संक्रान्ती अथवा माघीका रुपमा आ–आफ्नै ढंगबाट विशेष र सांस्कृतिक महत्वका साथ मनाइने गरिन्छ ।
नेपाली सनातन धर्म अनुसार तिलको विशेष खालको महत्व रहँदै आएको छ । यज्ञ यज्ञादीमा होम होमादी गर्नलाई चरुको रुपमा वा पूजाआजा गर्दा अनि दानदातब्य गर्दा या कुनै पितृकर्म अनि शुभकार्यमा तिलको अत्यन्तै आवश्यक पर्दछ । माघे संक्रान्ती तिलहनका हिसाबले अत्यन्तै प्रसिद्ध रहँदै आएको छ । तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डु यस पर्वको विशेष परिकारमा पर्दै आएको छ । त्यसकारण पनि माघे संक्रान्तीलाई तिलुवा संक्रान्ती पनि भन्ने गरिन्छ । यसका साथै खिचडी, चाकु, तरुल, पिँडालु र पापड आदि जस्ता परिकारका लागि पनि माघी पर्व प्रसिद्ध रहँदै आएको छ । माथि उल्लेखित सबै प्रकारका खानेकुराहरु तातो प्रदान गर्ने प्रकृतिको भएकोले जाडो याममा यी खाने कुराले शरीरलाई फाइदा गर्नुको साथै तातो राख्न असाध्यै ठूलो मद्दत गर्ने गर्दछ ।
पुरातन कालखण्ड अर्थात महाभारतकालमा ईच्छा मृत्युको वरदान पाएका भिष्म पितामहले उत्तरायण नलागेसम्म शरीर नत्याग्ने कसम खाएका थिए । रगत बगाएर उनी आफ्नो मृत्युको लागि उत्तरायण कुरेर बसे । माघमा उत्तरायण लागेपछि उनले इच्छाधीन मृत्यु वरण गरेको कुरा महाभारतमा बताइएको छ । उत्तरायणमा मृत्यु हुनेले मोक्ष प्राप्त गर्ने कुरा धार्मिक ग्रन्थहरुमा बताइएको छ ।
आज अर्थात माघे संक्रान्तीको दिन विभिन्न घाट, दोभान त्रिवेणी लगायतका नदी अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको ठूलै भीडभाड रहने गर्दछ । तनहुँको देवघाट, सुनसरीको चतरा धाम, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, गुल्मीको रिडी, काठमाण्डौ शङ्खमूलको बागमती किनार, काभ्रेको दोलालघाट लगायतका ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । माघे संक्रान्ति नजिकिदै जाँदा अहिले टोखामा चाकुको व्यवसायिक उत्पादन वढ्दै गएको छ । माघे संक्रान्तीको अबसरमा चाकुुले बिशेष महत्व पाउने गर्दछ । चाकुले नेपाली समुदायमा छुट्टै महत्व राखेको पाइन्छ ।
माघे सक्रान्तिको अवसरमा विशेष रुपमा माग हुने चाकु उत्पादनमा अहिले टोखाबासीलाई भ्याईनभ्याइ छ । चाकु खाने संस्कृति र महत्व बुझ्न टोखा आफैंमा पर्याप्त छ । भनिन्छ, चाकु उत्पादनको व्यवसायीक इतिहास टोखासगँ जोडिएको छ । अहिले टोखामा दर्जनभन्दा वढीको संख्यामा चाकु उद्योगहरु खुलेका छन । काभ्रेपलाञ्चोकको पाँचखालस्थित लामिडाँडा बजारमापनि वर्षौंदेखि चाकु उत्पादन हुँदै आएको विशेष ठाउँ हो । उपभोक्ताहरुले टोखा क्षेत्रको चाकुलाई अधिक मन पराउने गरेका कारण पनि टोखामा यो व्यवसाय फष्टाउँदो छ । त्यति र त्यहाँमात्र होइन, विभिन्न ठाउँ विशेष र नयाँ पुस्ताको समेत यो व्यवसायमा आकर्षण बढिरहेको देख्न सकिन्छ । पौराणिक महत्व बोकेको चाकु संस्कृतिमा कमी आउन नदिन खास गरी टोखाबासी लागि पर्रै आएका छन् । उनीहरु चाकुको बखान मात्र गर्दैनन् यसको महत्व पनि दर्शाउँछन् । अहिले टोखामा चाकु उद्योगीहरुलाई बोल्ने फूर्सदसम्म छैन । तर, पनि टोखाको चाकु व्यवसायले बजार धान्न सक्ने अवस्था रहेको छैन ।
टोखामा पहिले पहिले उखु प्रशस्त उत्पादन हुने भएकाले टोखाको नामाकरण नै उखुवाट भएको भन्ने भनाई छ । चाकु बनाउन सखर प्रयोग हुने भएकाले चाकुको इतिहास टोखामा भेटिने गर्दछ । चाकु खाँदा जाडोले छुँदैन भन्ने भनाइ छ । त्यसैले जाडोमा चाकुको प्रयोग बढी हुन्छ । नेपालमा खास गरी पुस र माघ महिनामा धेरै जाडो हुने भएकोले विशेषतः माघे संक्रान्तिका दिन चाकुको किनबेच धेरै हुन्छ । त्यसैले चाकु बनाउनेहरुले यही समयलाई लक्षित गरी बनाउँछन् ।
त्यति मात्र नभएर पुसमा अत्यन्तै जाडो र फुर्सदको हिसाबले समयपनि प्रशस्तै हुने भक्एोले यसबाट शरिरको घट्दो तापक्रमलाई माघे संक्रान्तिमा ध्यु, चाकु , तीलको लड्डु र तरुल खाएर मेटाउने प्रचलन चल्दै आएको छ । मकर संक्रान्ति, माघी, मगर दिबस आदि नामले चिनिने माघे संक्रान्ति नेपालका विभिन्न समुदायले मनाउने महत्वपूर्ण चाड हो ।
यसको अलावा माघे संक्रान्ती, सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्ने पर्व समेत हो । यो पर्व हिमाल, पहाड र तराई तिनै क्षेत्रका सम्पूर्ण जातजातिले विभिन्न रुपमा मनाउने गर्दछन् । विभिन्न फरक संस्कृतिका बीच यसरी सबै नेपालीको साझा भएका कारण यो पर्वलाई नेपालीहरुको साझा पर्व भनेर पनि सम्बोधन गर्ने गरिन्छ । माघ महिनामा तीर्थस्थलहरुमा गएर स्नान गर्नाले धेरै पूण्य प्राप्त गर्न सकिन्छ । तीर्थ क्षेत्रमा गएर स्नान गर्नाले शरीरको फोहोर फाल्नेमात्र नभएर अन्य स्थानमा गरिएका पाप कर्महरुपनि नाश हुने कुरा शास्त्रमा उल्लेख छ ।
माघ महिनाको पहिलो दिनबाट नै दिनहरु लामा हुँदै जान्छन् । भगीरथले लामो समय आफ्ना पितृहरुको मोक्षको लागि तपस्या गरेको कुरा शास्त्रीय मात्र नभएर सर्वविदितै विषय हो । उनको भगीरथ तपस्याले परमपावनी माता गङ्गा माघको संक्रान्तीकै दिन धर्तीमा अवतरण गरेकी थिइन् भन्ने शास्त्रमा उल्लेख छ । माघे संक्रान्तीमा खाइने कन्दमुलहरुबाट स्वस्थ रहन पनि मद्दत पुग्दछ । यसले जाडो महिनामा मानिसहरुलाई स्वस्थ र ह्रष्टपुष्ट राख्न अनेक खालका तरिका तथा विधिहरुमा हाम्रा पुर्खा÷पूर्वजहरु पारङ्गत भएको तथ्य पुष्टि हुन्छ । –नव क्षितिज साप्ताहिकबाट