बनेपा, जिल्लाका सबै स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रमका र बजेट सार्वजनिक गरेर छलफल गराई रहेका छन् ।

गत असार १० गते प्रस्तुत नीति, कार्यक्रमका र बजेटलाई यो महिना भित्रै पारित गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आगामी आव २०७९÷८० का लागि नीति, कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले एक अर्ब ५५ करोड २४ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।
नगरपालिकाको आन्तिरक आय ३३ करोड, वागमती प्रदेश, संघिय सरकार बाट गरी कुल बजेट १ अर्व ५५ करोड २४ लाख रुपँयाको बजेट ल्याएको हो । नगरले बनेपा नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कमा नगर विकास कोषको लागत सहभागितामा बहुतले सवारी पार्किङ स्थल निर्माण गरी पार्किङ व्यवस्थापन सहित आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दीगो अभिवृद्धिका लागि नगरपालिकाको स्वामित्वमा रहेका सम्पति बहालमा वा लिजमा दिने, नीतिलाई व्यवहारिक र प्रभावकारी बनाई कार्यान्वयन गरीने, कर, शुल्क तथा आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग बाणीज्य संघ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसंगको सहकार्यलाई अझ प्रभावकारी बनाइने, अरनिको राजमार्गका तीनदोबाटो र चारदोबाटो लगायतका व्यस्त क्षेत्रमा आकाशेपुल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरीने र ट्राफिक लाईटको ब्यबस्थापन गरिने जनाएको छ । नगर क्षेत्रभित्रका चार वटा आधारभूत तथा माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने, बाल तथा मातृ मृत्युदर न्यूनीकरणका लागि उपयुक्त बर्थिङ सेन्टर स्थापना र सञ्चालन लगायतका कार्यक्रमहरु विस्तार गरीने, बनेपा नगरपालिकाभित्र स्थायी बसोबास भएका व्यक्तिहरुका लागि सञ्चालित मोतीबिन्दुको निःशुल्क शल्यक्रियाका लागि रेयुकाइ आँखा अस्पतालसँग भएको सहकार्यलाई निरन्तरता दिइने, बनेपामा रहेको ब्लड बैंकको सेवालाई सरल र अत्याधुनिक सुविधा सम्पन्न गर्न तथा नगरबासीहरुले सुलभ दरमा रगत प्राप्त गर्ने वातावरण मिलाउन आवश्यक पहल गरीने छ । महिलालाई स्तन तथा पाठेघरको क्यान्सरबाट जोगाउन जनचेतनामूलक कार्यक्रम गर्ने, बनेपा नगर क्षेत्रभित्रका नगरकोट, बासुकी पार्क, गोशाइस्थान, चप्लेटी, मगर गाउँ,आशापुरी, नागीडाडा खावा गुठी जस्ता स्थलहरुलाई जोड्ने ट्रेकिङ्ग रुट निर्माणलगागतका कार्यक्रम रहेका छन ।

पनौती नगरपालिकाको ११औँ नगरसभामा नगरप्रमुख रामशरण भण्डारीले आव २०७९÷८० का लागि प्रस्तुत गरेको नीति, कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६० करोड १३ लाखको अनुमानित बजेट प्रस्तुत गरिन् । जसमा चालुतर्फ ७४ करोड २८ लाख ८० हजार, पूँजीगततर्फ रु ८५ करोड ४९ लाख २० हजार र वित्तीय व्यवस्थातर्फ ३५ लाख विनियोजन गरिएको छ ।
पनौती नगरलाई बेरुजु शुन्य बनाउने, विज्ञ सहमुह बनाई नगरपालिकाले गर्ने काम कारवाही अघि बढाउने नीति अबलम्बन गरिने, पुर्वाधार विकासको क्रममा पनौतीको बसपार्क निर्माण, रंगशाला निर्माण, पुण्यमाता खोला किनारमा करिडोर निर्माण, मानव संशाधनको उच्चतम उपयोग गर्ने, किसान परिचयपत्रको व्यवस्था गर्ने, उत्पादनको योगदानको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउने देखि प्राकृतिक स्रोत साधनको दोहन रोक्ने सम्मको नीति पनौतीले ल्याइएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखेको पनौती नगरले आधारभुत स्वास्थ्य सेवालाई घरदैलोमुखी ‘स्वास्थ्य जेष्ठ नागरिक’ कार्यक्रम संचालन गर्ने जनाएको छ । स्वास्थ्य संस्थामै सुत्केरी हुने दरलाई शत प्रतिशत पु¥याउन प्रोत्साहनका थप कार्यक्रम ल्याइने, सामुदायीक विद्यालयलाई प्रविधिमैत्री, गुणस्तरीय, सीप मुलक शिक्षा तर्फ उन्मुख गराउन आवश्यक नीति र कार्यगत व्यवस्था मिलाउने, साना कृषि उत्पादनलाई प्रत्यक्ष रुपमा लाभान्वित गराउन हाटवजार संचालनमा ल्याइने र कृषि जन्य घरेलु तथा साना उद्योग व्यवसायको लागि प्रोत्साहन गरिने लगाएतको नीति लिएको छ ।

 

धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि एक अर्ब ३५ करोड रुपियाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख अशोक कुमार ब्याञ्जुले चालुतर्फ ६४ करोड ३ लाख ८ हजार रुपियाँ अर्थात् कुल बजेटको ४७ दशमलव ४३ प्रतिशत र पूँजीगततर्फ ७० करोड ५६लाख ७२ हजार अर्थात् कुल बजेटको ५२ दशमलव २७ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ४० लाख अर्थात् शुन्य दशमलव ३० प्रतिशत रकम विनियोजन गर्नु भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोत (राजस्व (मौज्दातसमेत) बाट २१ करोड १ लाख २७ हजार, राजस्व बाँडफाँटबाट २१ करोड ६५ लाख ६६ हजार, संघ सरकार अन्तर सरकारकाी हस्तान्तरणबाट ४७ करोड ७८ लाख रकम प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरि नगरपालिकाले अन्य कार्यक्रम तथा परियोजनाबाट ३४ करोड ९५ लाख र जनसहभागिताबाट २ करोड ७५ लाख रकम प्राप्त हुने अनुमान गरेको छ । नगर प्रमुख ब्याञ्जुले आगामी आ.व.मा स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला, बालबालिका, अपाङ्ग, जेष्ठट नागरिक, सामाजिक सुरक्षा, पूर्वाधार, खानेपानी, सडक, अन्य पूर्वाधार, पर्यटन, कृषिको क्षेत्रमा विभिन्न योजनाहरु सञ्चालन गरिने बताउनुभयो ।
नगर उपप्रमुख निराजन जङ्गमले नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा वडा नम्बर १ मा विभिन्न २७ वटा योजना, वडा नम्बर २ मा २७ वटा, वडा नम्बर ३ मा १८ वटा, वडा नम्बर ४ मा २५ वटा, वडा नम्बर ५ मा २० वटा, वडा नम्बर ६ मा ३६ वटा, वडा नम्बर ७ मा ४० वटा, वडा नम्बर ८ मा २३ वटा, वडा नम्बर ९ मा १३ वटा, वडा नम्बर १० मा २० वटा, वडा नम्बर ११ मा २२ वटा र वडा नम्बर १२ मा विभिन्न २१ वटा क्रियाकलापहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले चालु आ.व.मा नगरपालिकाभित्र विभिन्न क्षेत्रमा गरिएको कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

नमोबुद्ध नगरपालिकाले आव २०७९÷८०का लागि ७४ करोड ४८ लाख ४५ हजार ९९७ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख कुन्साङ लामाले नीति तथा कार्यक्रम र नगर उपप्रमुख रत्नबहादुर लामाले बजेट पेस गरेका थिए ।

 

प्रस्तुत बजेटमा चालुतर्फ १७ करोड ४८ लाख सात हजार ९९७ र पूँजीगततर्फ ५७ करोड ३८ हजार विनियोजन गरिएको छ । आयतर्फ आन्तरिक आय चार करोड ७२ लाख ५१ हजार ३५३, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान एक करोड नौ लाख एक हजार, राजश्व बाँडफाँट दुई करोड ६६ लाख ५५ हजार, ससर्त अनुदान दुई करोड ३६ लाख छ हजार, विशेष अनुदान ८० लाख र समपूरक अनुदान तीन करोड रहेको छ ।

यस्तै सङ्घीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, राजश्व बाँडफाँट नौ करोड २८ लाख ४९ हजार, ससर्त अनुदान ३१ करोड ९९ लाख, समपूरक अनुदान एक करोड रहेको छ भने अन्य आयतर्फ तीन करोड २२ लाख तीन हजार ६४४ रहेको छ ।

यसैगरी खर्चतर्फ चालु खर्च १७ करोड ४८ लाख सात हजार ९९७ र पूँजीगत खर्च ५७ करोड ३८ हजार रुपैयाँ रहेको छ । नगरले सम्पूर्ण वडामा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्न जनसङ्ख्या, क्षेत्रफल र राजश्व सङ्कलनलाई मूल आधार मान्दै सूत्रमा राखी जम्मा एकमुष्ट रकम चार करोड बजेट विनियोजन गरेको छ । वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट दुई करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

पाँचखाल नगर सभामा नगर उपप्रमुख सूर्यमाया दनुवारले आगाम वर्षका लागि एक अर्ब २९ करोड ९६ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । जसअन्तर्गत ससर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, प्रदेश सरकार समपूरक र अनुदान, सडक बोर्ड, सामाजिक सुरक्षा गरी ५३ करोड ३७ लाख, ९७ हजार तथा बाँडफाँट योग्य ७६ करोड ५८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै पाँचखालको पूँजीगत खर्चमा ९४ करोड ६८ लाख ३८ हजार तथा चालुतर्फ १६ करोड, ससर्त योजनाका लागि १९ करोड २८ लाख ३८ हजार गरी कूल रु एक अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैयाँको बजेट पास भएको हो ।

मण्डनदेउपुर नगरमा नगरप्रमुख टोकबहादुर वाइबाले नीति तथा कार्यक्रम र नगर उपप्रमुख विष्णुमणि नेपालले आगामी आवका लागि रु एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ को अनुमानित बजेट प्रस्तुत गरेका छन् । जसअन्तर्गत चालुतर्फ ४८ करोड ६६ लाख ६४ हजार ४८७ रहेको छ भने पूँजीगततर्फ ४० करोड २७ लाख सात हजार ७४८ र सामाजिक सुरक्षातर्फ रु १३ करोड रुपैयाँ रहेको छ ।

रोशी गाउँपालिकाले आउँदो आवका लागि ११औँ गाउँसभामार्फत नीति, कार्यक्रमका साथै बजेट सार्वजनिक गरेको छ । अध्यक्ष दिनेश लामाले रोशीको समग्र विषयगत क्षेत्रको विकासबारे नीति, कार्यक्रम प्रस्तुत गर्दै पालिका केन्द्रसम्म जोड्ने प्रत्येक वडाका सडकमा बाह्रै महिना यातायात सेवा सञ्चालन गर्न जोड दिएका छन् । गौरवका आयोजनाको निरन्तरता, पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न तदारुकता, लघु जलविद्युत् आयोजनाको संरक्षण, स्तरीय शिक्षादेखि स्वास्थ्य सेवा तथा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थासम्मका नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँसभामा कूल ७१ करोड ४६ लाख ८२ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । सभामा सङ्घीय सरकार तथा प्रदेश सरकार एवं गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्तमध्ये एक करोड ६० लाख, स्थानीय राजश्व बाँडफाँटबाट रु चार करोड ५० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट रु १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँटबाट रु तीन करोड ५२ लाख २८ हजार, सङ्घीय सरकार समानीकरणबाट १ करोड ६४ लाख, ससर्त अनुदान सङ्घ रु २८ करोड ५९ लाख विशेष तथा समपूरक अनुदान सङ्घको तीन करोड ७० लाख, प्रदेश सरकारको समानीकरण रु एक करोड ६ लाख १३ हजार, ससर्त अनुदान प्रदेशबाट दुई करोड ८७ लाख ७८ हजार, समपूरक तथा विशेष अनुदान सङ्घको रु तीन करोड ७४ लाख रहेको प्रस्तुत गरिएको थियो ।

बेथानचोक गाउँपालिकाले ५९ करोड ११ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नीति तथा कार्यक्रमसँगै प्रस्तुत अनुमानित ५९ करोड ११ लाख ३९ हजार कूल बजेटमा रु ३१ करोड पाँच लाख चालुखर्च तथा रु २८ करोड ६ लाख ३९ हजार पूँजीगत खर्च रहने जानकारी दिएका छन् ।

जिल्लाकै उच्च स्थान बेथानचोक नारायणस्थानसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेँसी खण्डमा सुरुङमार्गको अध्ययनजस्ता विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

खानीखोला गाउँपालिकाले आव २०७९÷८०का लागि रु ४७ करोड चार लाख ७० हजार बजेट प्रस्तुत गरेको छ । बैठकमा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।
तेमाल गाउँपालकाले आव २०७९÷८० को नीति तथा कार्यक्रम शुक्रबार नै सार्वजनिक गरेको छ । बैठकमा गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले तेमालको समग्र विषयगत क्षेत्रको विकासबारे नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् ।
यस्तै जिल्लाको भुम्लु गाउँपालिकाले आव २०७९÷८० को नीति तथा कार्यक्रम अध्यक्ष प्रेम भुजेलले प्रस्तुत गरे पनि बजेटभने छुट्टै बैठकमा प्रस्तुत गरिने जनाइएको छ । चौँरीदेउराली गाउँपालिकाले २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट प्रस्तुत गरेको छैन । गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंले बजेट निर्माणबारे आन्तरिक छलफल भइरहेकाले अर्को बैठकमा प्रस्तुत गरिने बताइन् । यस्तै महाभारत गाउँपालिकाले गाउँसभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै बजेटबारे छलफलमा जुटेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । –नव क्षितिज साप्ताहिकबाट