यहि २०७९ असार १० र ११ गते मकवानपुर, हेटौंडाको पल्पसा प्यालेसमा हुने नेपाल डेरी एसोसिएसनको २२ औं वार्षिक साधारणसभा, ८ औं राष्ट्रिय महाधिवेशन र एक दिने डेरी मेलाको विषयमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालसँग समसामयिक विषयमा गरिएको कुराकानी ः

० तपाईंको आफ्नो परिचय र यस क्षेत्रमा तपाईं संलग्न भएको समयका साथै अनुभवका बारेमा केहि बताईदिनुस् न ?
म प्रल्हाद दाहाल, जन्म मेरो अनैकोट गाविस वडा नंं. २, ज्यामिरकोट हाल पाँचखाल नगरपालिका वडा नंं. २ काभ्रे हो भने अहिले चाहिँ काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. ८, सुन्दरबस्तीमा बस्छु । मेरो बुबा चित्रप्रसाद दाहाल र आमा हरिमाया दाहालको कोखबाट २०३३ साल जेक्ष्ठ १८ गते मेरो जन्म भएको हो । मैले २०६२ सालबाट मैले डेरी व्यवसायमा प्रवेश गरेको हो । शुरुमा मैले घरेलु डेरीको रुपमा काठमाडौंको धुम्बाराहीमा शुरु गरें । हाल हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रा.लि काभ्रेको पनौती नगरपालिका वडा नं. ३, कुशादेवीमा रहेको छ । २०६३ सालबाट नेपाल डेरी एसोसिएसनामा प्रवेश गरि एक कार्यकाल केन्द्रिय सदस्य, ३ कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको पदमा रहि काम गरिरहेको छु ।
० नेपालमा दुधजन्य पदार्थको पछिल्लो अवस्था के छ ?
नेपालमा डेरीको इतिहास त्यस्तो धेरै लामो छैन तर पनि २००९ सालदेखि हालसम्म आउँदा निजि क्षेत्रको बजार ६० प्रतिशत छ भने दुग्ध विकास संस्थानको ४० प्रतिशत छ । बजारको ८० प्रतिशत माग नेपालको उत्पादनले धानेको छ भने अरु नपुग २० प्रतिशत विभिन्न अन्य देशबाट आयात भएको छ । नेपाल ड्ब्लु टि ओको सदस्य भएको नाताले अब हाम्रा उत्पादनले पनि विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने बन्नु पर्ने चुनौती भने छ । अहिले पनि जम्मा १७ प्रतिशत दुध मात्र फर्मल सेक्टरमा लेबलिङ्ग र प्याकेजिङ्ग गरेर सामान बजारमा लान सकेका छौं । बाँकी दुध अहिले पनि त्यत्तिकै खुल्ला रुपमा विक्ति भईरहेको छ । दुध तथा दुग्ध जन्य पदार्थको खपत राम्रै छ । आशा छ सरकारले अरु सहयोग गरि राम्रो बनाउन सहयोग पु¥याउने नै छ ।
० नेपाल दुध जन्य पदार्थमा कहिले आत्मनिर्भर बन्छ ?
नेपालमा हाल दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्ध । उत्पादन र बजारको अवस्था हेर्दा २० प्रतिशत नपुग छ । त्यो पनि सरकारले थोरै सहयोग गर्ने हो भने पूर्ति गर्न सकिन्छ । अहिले पनि विभिन्न कारण हाम्रो देशको कुल उत्पादनको आधा हिस्सा ३१ लाख लिटर दुध बजारसम्म आईपुगेकै छैन । अब देशका प्राय विकट ठाउँमा पनि बाटोघाटो, बिजुली पुगिसक्यो । आशा गरौं क्रमैसंग केहि वर्षमाअब नेपाल दुधमा पूर्ण आत्मनिर्भर हुन्छ । त्यसकोलागि सबैभन्दा पहिला आधिकारिक निकायबाट पहल कदमी हुन जरुरी छ ।
० किसानले उत्पादन गरेको दुधको मूल्य पाएका छन् कि छैनन् ?
हाम्रो देशको कृषि प्रणाली नै निर्वाहमुखि छ । सर्वप्रथम त उत्पादन लागत घटाउन व्यवसायमुलुक तरिकाले काम गर्नुपर्दछ । अर्को कुरा हाम्रो देशमा गाउँका आफ्ना रोपनीका रोपनी जग्गा बाँझो राखेर शहरमा आना जग्गा भाडामा लिई पशुपालन गर्ने, पशुपंक्षीहरुलाई घाँस, पराल भुष्सा भन्दापनि दाना पिठो खुवाएर दुध उत्पादन गर्दा उचित मुल्य पाउन सक्ने वातावरण नै हुन सक्दैन । त्यसैले अहिले हेर्दा किसानले मूल्य नपाएको देखिन्छ तर त्यसलाई कम गर्न गाउँघरमा व्यवसायी तरिकाले गाईभैसी पाल्नुपर्छ अनि मात्र लागत मूल्य कम हुन गइ किसानले उचित मूल्य पाउने देखिन्छ ।
० दुधजन्य पदार्थको उत्पादन क्षेत्रमा मुख्य मुख्य समस्या के के हुन् ?
नेपालको भौगालिक अवस्था नै मुख्य समस्या हो । यहाँ एक ठाउँबाट अर्को ठाउँमा आउन जान नै कठिन छ । दुधको आयु अत्यन्तै कम हुन्छ । निश्चित समय भित्र के गर्ने हो गरि सक्नुपर्दछ । लामो समय लगाएर ल्याएको दुध गुणस्तर कायम रहिरहन सक्दैन । त्यसपछि यसबाट बन्ने सामान पनि राम्रो हुँदैन । यहाँ सामान उत्पादन गर्न गुणस्तर युक्त कच्चापदार्थ नभएरै समस्या भएको हो । बजारीकरणको समस्या होइन । माग अनुसार सामान पु¥याउन नसक्नु एउटा समस्या छ अनि पछि आफ्नो बजार गुमेर बजार नै नपाउनु अर्को समस्या छ । हामीले हाम्रा उत्पादनलाई जबसम्म विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउन सक्दैनौं तबसम्म यहाँका हाम्रा समस्या जस्ताको तस्तै रहन्छन् । यसका लागि राज्य तहबाट सहयोग पुग्न आवश्यक छ ।
० पाउडर दुधको उत्पादनमा नेपाली बजार अझै कमजोर हुनुका मूख्य मूख्य कारण के के हुन् ?
पाउडर दुध बनाउन एकदमै फ्रेस दुध चाहिन्छ तर हाम्रा देशमा भौगालिक कारणले गर्दा आजको आजै वा पूरा चिसो बनाएर दुध सम्बन्धित स्थानमा पु¥याउन पनि कठिन छ । अर्को कुरा हामी कहाँ पाउडर दुधको कारखाना लगाउन र भएका पनि संचालन गर्न कठिन छ । अर्को कुरा हामीकहाँ पाउडर दुध कारखाना पनि उचित स्थानमा छैनन् । पाउडर दुध कारखाना उत्पादन बढि हुने र बजार हुने स्थानमा हुनु पर्दछ । जसले गर्दा सजिलै पाउडर बनाउन सकियोस् । तर हाम्रो देशमा पाउडर दुध बनाउन लैजाँदा २ ÷ ३ दिन समय लाग्छ । त्यसो हुँदा यातायात खर्च बढ्न जान्छ र लागत बढि भई बजारमा विक्रि गर्न पनि कठिन हुन्छ । अर्को कुरा समयमा नै दुध कारखानाम नपुग्दा दुधको गुणस्चरमा कमि हुन आउँछ र राम्रो पाउडर बन्न सक्दैन । जबसम्म व्यवासीक मुलक तवरले व्यवसायीक मुलुक पशुपालन र उपयुक्त स्थानमा धुलो दूध कारखाना रहँदैन तबसम्म यस्तै समस्या रहिरहन्छ ।
० राष्ट्रिय दुग्ध विकास वोर्डले दुग्ध उत्पादक एवं व्यवसायीहरुको सम्बन्धमा गरेका कदमहरु प्रति सहमति वा असहमति के के छन् ?
राष्ट्रिय दुग्ध विकास वोर्ड हामी दुधसंग सम्बन्ध राख्ने सबै निकायको अभिभावक संस्था हो । यसले जहिले पनि सरोकारवालाको हितमा आफ्ना गतिविधिहरु ग्रिरहेको हुन्छ । हालसम्म वोर्डले गरेका कुराहरु सरकारात्मक नै छन् तर मन्त्रालयले यसलाई दिने बजेट कम भएका कारण जसरी जे जे काम हुनुपर्ने थियो त्यो त्यो काम भने हुन सकेका छैनन् । अन्य देशको वोर्ड हेरी हाम्रो देशको वोर्ड अत्यन्तै कमजोर छ । जबसम्म वोर्ड बलियो हुँदैन तबसम्म दुग्ध क्षेत्र नै बलियो बन्न सक्दैन । वोर्डले गरेका सबै काममा हाम्रो सहमती नै रहने गर्दछ तर कहिले काहिं भने नितिगत कुरा हुँदा विमति पनि रहने गर्दछ तर ती सबै कुरा छलफल पछि सहमतीमा पुग्ने गरिन्छ ।
० नेपाल डेरी एसोसिएसनको केन्द्रिय सदस्य, महासचिव र उपाध्यक्ष पदमा रहि लामो काम गर्नुभयो, तपाईंको नेतृत्वले गरेका खास खास कामहरु के के छन् ?
नेपाल डेरी एसोसिएसनले आफ्ना सदस्यहरुको हितमा काम गर्दछ । विशेष गरि निति नियम बनाउने बेला सुझाव दिने, गलत लागे विरोध गर्ने र कहिं कतै अप्ठ्यारो परे त्यसलाई सच्याउन प्रयत्न गर्ने गर्दछ । हामीले समग्र दुग्ध क्षेत्रको हितको लागि धेरै सकारात्मक काम गरेका छौं । दुधको मूल्य निर्धारणका लागि वैज्ञानिक निति तयार छ, दुध बोक्न गाडीमा प्रयोग गर्ने प्रतिक चिन्ह लोगो बनाउने काममा वोर्डलाई पूर्ण सपोर्ट गरियो । दुध निति, अन्य दुधसंग आवश्यक नितिनियम बनाउन रचनात्मक भुमिका खेलियो । देशमा दुध तथा दुग्ध पदार्थ बढि हुँदा बाहिरबाट आयात रोक्ने र यहाँ कम हुँदा निर्यात खोल्ने प्रयास गर्ने, सदस्यहरुलाई आवश्यक नितिगत सहयोग गर्ने, प्राविधिक तालिम दिने, आवश्यक परामर्ष गर्ने, कृषिमा वैदेशिक लगानी आउन खोज्दा त्यसको बिरोधमा नेतृत्वदायी भुमिका खेल्ने जस्ता कामहरु एसोसिएसनले गर्ने गर्दछ ।
० यसपालि ८ औं राष्ट्रिय महाधिवेशन हुँदै गर्दा तपाईंले अध्यक्ष पद दावी गरेको हल्ला पनि छ, कुरा हो ? तयारी कस्तो के गर्दै हुनुहुन्छ ?
कुनै पनि संगठनमा कोहि व्यक्ति निरन्तर लागिरहन्छ भने त्यसले संगठनको सर्वोच्च पदमा पुग्न इच्छा गर्नु स्वभाविक नै हो । तर संगठनमा केहि कसैले आफैं इच्छा गरेर मात्र हुँदैन । सबै साथीहरुले सल्लाह गरेर को उचित हुन्छ त्यो व्यक्ति छानेर नेतृत्व दिने कुरा हुन्छ । त्यसैले म आफू एक पटक केन्द्रिय सदस्य, ३ पटक महासचिव र एक पटक उपाध्यक्ष पदमा रहि १७ वर्षसम्म निरन्तर संगठनमा काम गरेको छु । सकेसम्म संगठनलाई सहयोग नै गरेको छु । सबै साथीभाईहरुसँग सहकार्य गरेको छु । होला अब कहिलेकाहिं काम गर्दा सबैको चित्त नबुझेको हुन सक्छ । तर मैले जानेर कसैको पनि कहिल्यै पनि नराम्रो हुने काम गरेको भने छैन । यदि साथीभाईहरुले हुन्छ भन्नुभयो भने यस पटक अध्यक्ष बन्न म तयार नै छु । अब तयारी भनेको खासै यस्तै त हो । म नै जसरी नि बन्नु नै पर्छ भन्ने छैन तर जसले सोध्नु भएको छ र प्रसंग निक्लेको बेलामा भने अध्यक्ष बन्नु प¥यो सहयोग गर्नुस् है भन्ने गरेको छु । साथीभाईहरुले पनि यस पटक तपाईं नै अध्यक्ष बन्नुपर्छ भन्नु भएको छ । संगठनमा बसेर काम गर्ने कुरा छ, समय दिने, खर्च पनि गर्ने कुरा पनि हुन्छ । त्यसैले हाम्रोमा मरिहत्ते गरेर यहि नै हुनुपर्छ र यो चाहिँ हुनुहुँदैन भन्ने छैन । आशा छ म साझा मान्छेको रुपमा रहि सर्वसम्मतमा नै अध्यक्ष हुनेछु ।
० हेटौंडामा तपाईंहरुको महाधिवेशन सँगै अरु के के कार्यक्रम हुँदै छन् ?
महाधिवेशनसँगै हामीले राष्ट्रिय दुग्ध विकास बोर्डसँगको सहकार्यमा एक दिने डेरी मेला पनि हुँदैछ । त्यसै गरि हामी हाम्रा वर्तमान समस्या, नितिगत समस्या र आगामी कार्यक्रमका बारेमा घनिभुत रुपमा छलफल हुनेछ । हामीले ९ गते २ बजे पल्पसा प्यालेसमा प्रेस मिट, १० गते बिहान ७ बजे ¥याली , १० गते नै १० बजेदेखि ४ बजेसम्म डेरी मेला, १० गते नै फेरि ३ बजे हाम्रो एसोसिएसनको महाधिवेशन प्रदेश कृषि मन्त्री बशुन्धारा हुमागाईंले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरि ११ गते एसोसिएसनको बन्द सत्र कार्यक्रम रहनेछ । बन्द सत्र कार्यक्रममा एसोसिएसनका नितिगत कुरामा छलफल, भावी योजना, वर्तमान समस्याको छलफल आदि विषयमा छलफल हुनेछ । अन्त्यमा आगामी ३ वर्षको लागि नयाँ नेतृत्वको चयन हुनेछ । आशा छ यस पटकको नेतृत्व सर्वसम्मत रुपमा चयन हुनेछ ।
० अन्त्यमा केहि भन्नू छ कि ?
यहाँलाई मेरा आफ्ना बिचार राख्ने मौका दिनु भएकोमा विशेष धन्यवाद दिन चहान्छु । हेटौंडाको पल्पसा प्यालेसमा १० गते हुने डेरी मेलामा आम हेटौंडा रहनु हुने सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु । सो मेलामा देशभरिका २ सयजना भन्दा बढि डेरी उद्योगीहरुको सहभागिता रहनेछ , हेटौंडा आसपासका ५ सयभन्दा बढी विद्यार्थीहरु, ३ सय जति अन्य सर्वसाधारणहरुको उपस्थिति रहनेछ । मेलामा डेरीका उत्पादन ( दूध, दहि, पनिर, छुर्पी, आइसक्रिम, खुवा, पुस्टकारी आदि ) डेरी मेसिन, कोल्ड स्टोर आदि विभिन्न कुराको स्टल राखिनेछ । आशा छ यो मेलाले आम उपस्थित सबैलाई दुधको बारेमा र मेसिनरीको बारेमा राम्रो जानकारी मिल्ने छ । फेरि पनि अन्त्यमा सबैलाई डेरी मेलामा उपस्थितिको लागि अनुरोध गर्दछु ।








