आईतबार बनेपा पुलबजारमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको छ। नो एमसीसी खतरा लेखेर बाल्टिनलाई रातो झोलाभित्र बेरेर सडकमा राखिएको उक्त बस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।
यसैबिच, सडकमा उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग आबद्ध महाभारत गाउँपालिका ६ का युगान्त थिङ रहेका छन् । बिहान साढे ७ बजेतिर सडकमा उक्त वस्तु राखेको भन्दै प्रहरीले मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको हो । बिहानभर सडकमा शंकास्पद वस्तु भेटिएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । अहिले अरनिको राजमार्गमा सवारी साधन सञ्चालन भइरहेका छन् ।








