नेपालको दुग्ध क्षेत्रको अवस्था दिन दिनै झन् झन् कठिन अवस्थातिर धकेलिंदै छ । अब यसलाई सन्तुलन राख्न नसक्ने र सरोकारवालाहरु नलाग्ने हो भने आउने दिन थप कठिन हुने निश्चित प्रायः छ । आजको यो माघ फागुनको समय भनेको दुध बढि हुने समय हो तर पनि आजका दिन दुध नपुग्ने अवस्था छ । अब झन् चैतपछि दुधको उत्पादन कम हुने र खपत बढि हुने सिजन आउँदैछ । अहिलेको यो अवस्था हेर्दा सिजनमा यसपटक धेरै नै दुध नपुग हुने अनुमान गर्न सकिन्छ । यस पटक कोभिडका कारण किसानले बिक्रि नभएर दुध पोख्न समेत बाध्य हुनु पर्यो । जसका कारण किसान ठूलो मारमा परे । कयौं किसान नोक्सान सहन नसकेर यो पेशाबाटै पलायन भए । यसरी दुध पोख्ने घटना वर्षेनि देखिने गरेका छन् । यस्ता घटनाने तेति नै बेला तेहि समय असर नगरे पनि दीर्घकालमा समस्या निम्ताउने गर्दछ। उत्पादित दुध बजारमा खपत नहुने र त्यसपछि किसानले बाध्य भएर दुध पुख्न परेको हो । बिक्री हुन नसकेको दुधलाई पाउडर बनाएर राख्दा लागत बढि हुने र चालु पुजी पाउडर बटरमा अड्किएर अफ्ठ्यारो स्थिति आउने हुँदा त्यो पनि त्यति सजिलो नभएको देखिन्छ जसका कारण मिल्क होलिडे हुने गर्छ । दुध बढि भएको बेला बनाएको पाउडर लगभग ५–६ महिना बजारमा जान नसक्ने र पुजी स्टक भएर बस्दा चल्नै गार्हो हुने गरेको छ । जसका कारण किसानको भुक्तानी समयमा नहुने र अफ्ठ्यारो अवस्था सृजना हुने गर्दछ ।
हाम्रो देशको दुध उत्पादनमा फल्स सिजन ( धेरै उत्पादन हुने ) र अर्को लिन सिजन ( कम उत्पादन हुने ) हुन्छ । फ्ल्स सिजनमा दुधलाई कन्भर्जन गरेर पाउडर बनाएर राख्ने र पुनः लिन सिजनमा दुध बनाएर बिक्री गर्ने गरिन्छ । यसरी पाउडर दुधलाई पुनः झोल दुध बनाउँदा लागतमा २१ प्रतिशतसम्म वृद्धि हुने गर्दछ । यसको अर्थ दुध कन्भर्जन गर्दा लागत बढी हुन्छ र त्यसले फाइदा हुँदैन । यो ठूलो समस्या हो । उत्पादन बढी हुुँदा स्टक गरेर राख्न समस्या हुने र कम उत्पादन हुँदा बजारको माग धान्न समस्या हुने हुँदा यो अवस्थाले दुग्ध व्यवसाय अति नै कठिन हुँदै जान थालेको छ। उद्योगले १२ महिना नै किसानको दुध किन्न पर्ने हुन्छ । यदि त्यसरी लिन नसक्ने हो भने फेरि उद्योगले सधैं दुध नपाउने हुन्छ । यसकारण उद्योगीले किसानको दुध जसरी पनि किन्नुपर्ने बाध्यता छ। फेरि यदि उद्योगीले दुध नकिन्ने हो भने किसान पेशाबाट नै पलायन हुने अवस्था आउँन सक्छ । त्यसरी किसान पलायन हुँदा पनि पुनः उद्योगमै असर पर्छ । त्यस कारण पनि आम उद्योगले बढी भएको दुधलाई जसरी पनि घाटानाफा नहेरी कन्भर्जन गरेर किसानलाई राहत दिने प्रयास गर्ने गरेका छन् । तर यो दीर्घकालीन समस्याको समाधानको उपाय भने हैन ।
किसानले सधैं आवश्यक दुध उपलब्ध गराउँछन् भन्ने आशमा उद्योगले बढी हुँदाको दुध सधैँ किनेर कन्भर्जन गर्न थाल्ने हो भने एक दिन उद्योग आफैं आर्थिक रुपमा कमजोर बन्ने पक्का छ । दुध बढि हुँदा पाउडर बनाउने मात्र होइन अब अन्य दुग्ध पदार्थ पनि बनाउन तिर लाग्नुपर्छ । मिल्क होलिडे हटाउनको लागि छुर्पी उद्योग पनि अति नै उत्तम हो । अब हामीले छुर्पीको पेटेन राइट लिई हाम्रो मौलिक उत्पादनको जगेर्ना गर्दै आर्थिक रुपमा पनि यसबाट फाइदा लिनतिर लाग्नु पर्छ । यसरी काम गर्दा सबै पक्षलाई सहयोग पुर्याउन मद्धत पुग्दछ । त्यस्तै अन्य विभिन्न थरीका परिकार बनाउन सकिन्छ । अबको आवश्यकता भनेको यस्ता कुराको उत्पादनमा लाग्नु हो ।
यहाँ अहिले औपचारिक क्षेत्रको बजार अनौपचारिक क्षेत्रले लियो अनि अनौपचारिक क्षेत्रको बजार अर्को अहिले नयाँ कोभिडपछि लकडाउनबाट होम डेलिभरि फार्मको नाममा घर घरमा पुर्याउने वालाहरुले लिए भन्ने कुरा उठिरहेको छ । अब किन त यस्तो ? भन्ने विषयमा गहन छलफल गर्न आवश्यक छ । बढी मुल्य तिरेर फर्मल क्षेत्रको दुध खान छाडेर किन इनफर्मल र फार्मको दुधमा आम उपभोक्ता इच्छुक भए त ? यो कुरा अति नै गम्भीर छ । अब फर्मल सेक्टरका उद्योगले यो विषयमा छलफल गरि आफ्नो पनि कमिकमजोरी छ कि ? भनेर सोच्ने बेला आएको छ । होइन भने बढि मुल्य तिरेर किन त फेरि आम उपभोक्ता इनफर्मल र फार्मको दुधमा आकर्षण भएका ? अब अरुलाई मात्र दोष लगाएर हुँदैन । आफ्नो तर्फबाट गर्नुपर्ने सबै क्रियाकलाप अनिवार्य गरेपछि मात्र हामीले अरुलाई भन्न मिल्छ ।
सबै डेरी उद्योगले किसानको समस्याप्रति चिन्तित भएर किसानलाई निराश हुन हुँदैन । दुध बढी हुँदा र कम हुँदा सबै उद्योगहरु मिलेर समाधान गर्नुपर्दछ । यहाँ दुध बढि र घटी भएर समस्या आउँदा कसैको थाप्लोमाथि दोष आउने काम गर्नु हुँदैन । औपचारिक र अनौपचारिक क्षेत्र भनेर अनावश्यक तर्क वितर्कतिर लाग्नु हुन्न । बरु जहाँ जसले जे गरेर भए पनि दुधको बजार बिस्तार भएको छ त्यो नै सकारात्मक पक्ष हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ। देशभर ५ लाखभन्दा बढि किसान घरपरिवार यो पेशामा लागेका छन् । ३० हजारजनाभन्दा बढिले उद्योग तहमा रोजगार पाएका छन् । दैनिक ६ करोडभन्दा बढि रकम शहरबाट गाउँमा जाने गरेकोछ । अरु लाखौं जनाले विभिन्न तहमा रोजगार पाएका छन् । यसले गर्दा आम किसानलाई स्वरोजगार मिलेको छ । त्यसैले अब यो क्षेत्रमा सबै पक्ष उत्तिकै गाम्भीर हुन आवश्यक छ । यो कुरामा राज्यको विशेष ध्यान जानुपर्ने देखिन्छ । राज्यलाई सिजनेबल उत्पादन हुन्छ भन्ने थाहा छ । यहाँ दुध उत्पानमा लिन सिजन र फल्स सिजन गरि दुई सिजन छन् । यसले आम उद्योग र किसानलाई ठूलै समस्यामा पारेको हुन्छ । तर यसको व्यवस्थापन गर्ने पहलकदमी आजसम्म खासै कहीँंकतैबाट भएको छैन । फल्स सिजनको दुध जसले पाउडर बनाई गोदाम गरेर राख्छ त्यसलाई आकर्षित गर्न सरकारले थप सुविधा दिनुपर्छ । यसो हुँदा किसानको दुध निरन्तर बिक्री हुने अवस्था हुन्छ र आम किसानलाई फाइदा पुग्न जान्छ ।
किसानले बजारमा लगेर बेच्न नसकेर बढी भएको दुधलाई कन्भर्जन गरि पाउडर बनाउन लाग्ने लागत घटाउन सरकारको भूमिका हुनुपर्छ । किसानको बिक्रि हुन नसकेर खेर जाने दुध कन्भर्जन गर्ने उद्योगलाई राज्यले जतिसक्दो चाँडो प्रबर्द्धन गरिनुपर्छ । मूल्य निर्धारण गर्दा पनि फल्समा कम र ड्राइमा बढी गर्न सके सबैको हित हुनेछ । स्टक भएको उत्पादनको मूल्य बढ्ने ग्यारन्टी र यदि बिक्रि हुन नसके सामान राज्यले खरिद गर्ने जिम्मा लिनुपर्छ। यसो हुँदा कन्भर्जन गर्नका लागि सहयोग पुग्नेछ । सरकारले आम उद्योगलाई विद्युत, भ्याट आदि के केमा सहुलियत दिन मिल्छ सबैमा दिनुपर्छ । यसो गर्दा मात्र उद्योगीको मनोबल बढ्न गइ दुग्ध बजारको भविष्य सहज हुन जान्छ र रोजगारको पनि बिस्तार हुन्छ ।
दुग्ध उद्योगको क्षेत्र प्रत्यक्ष उपभोक्तासँग सम्बन्धित छ । त्यसैले उद्योगले बजारमा पठाउने दुध, दही, घ्यु, मही, बटर तथा दुधमा आधारित अन्य उत्पादनहरू चीज, पनिर, आइसक्रिम लगायतका उत्पादन गुणस्तरीय हुनुपर्छ भन्नेमा उद्योग सधैं सजग हुनैपर्छ । सरकारले तोकेको मापदण्ड पूरा गरेर गुणस्तरीयता कायम गर्न प्रतिबद्ध भएर अगाडि बढ्न आवश्यक छ । तर गुणस्तर कायम राख्न विभिन्न तहमा रहेका व्यक्ति तथा निकायहरूको उत्तिकै भूमिका रहन्छ। गोठदेखि ओठसम्मको मूल्य शृङ्खला मध्ये एउटा पाटो मात्र उद्योग हो । बाँकी अन्य पक्षल्ले सुधार गर्न भूमिका निर्वाह गरिनुपर्छ अनि मात्र हामीले सोचेको र भनेको जस्तो सुधार हुन सक्छ । होइन भने एकै ठाउँबाट मात्र सुधार गर्न सम्भव छैन । सबै तह र तप्काका आम मानिसलाई उत्तिकै जिम्मेवार बनाएर अगाडि बढाउन सके मात्र सबैको इच्छा र चहाना पुरा हुन सक्छ । किसानले गाई भैँसी पाल्ने गोठको गुुणस्तर, गाई, भैँसीले खाने दाना र घाँसको अवस्था, उपचारमा प्रयोग हुने औषधीहरू, दुध दुहुँदा अपनाउनुु पर्ने सरसफाई, मिसावट हुनबाट रोक्नुपर्ने अवस्था, सङ्कलन केन्द्रको सरसफाइ र उपकरणको अवस्था, कोल्ड स्टोरको अवस्था, उद्योगमा गरिने प्रशोधन र बजारमा पठाइने प्रक्रियाहरू लगायतका अवस्थाहरू सबैतिर स्वस्थ्य दुध उत्पादनका लागि प्रतिबद्ध भइ लाग्नुपर्छ । राज्य तर्फबाट पनि आवश्यक कार्यक्रम तथा नियमन, अनुगमन कार्यलाई सकारात्मक तवरले अगाडि बढाउँदा मात्र गुणस्तर सुधारमा मद्दत पुग्दछ ।
पटक पटक दुधमा विभिन्न मिसावट गरेको प्रश्न उठ्ने गरेका छन् । कतिपय अवस्थामा उद्योगदेखि फार्मसम्म कमजोरीहरू नहुने हैनन् । तर कहाँबाट कमजोरी भयो त्यसलाई चाँहि जिम्मेवार बनाउनु पर्यो । गोठमा भएको समस्यालाई लिएर उद्योगमा प्रश्न उठाउन भएन भने बजारमा भएको समस्यालाई लिएर किसानलाई गोठमा प्रश्न गर्न भएन । अहिले पछिल्लो समय उद्योग क्षेत्रमा धेरै नै सुधार आइसकेको छ । किसानले पनि धेरै नै सजगता अपनाइ सकेको पाइन्छ । यद्यपि सुधारको निरन्तरता भने रहिरहनुपर्ने हुन्छ । नेपालमा उत्पादन हुने पाउडर दुधमा पनि अहिलेसम्म गुणस्तरमा खासै प्रश्न उठेको छैन् । अब हामीले विस्तार अन्य दुग्ध पदार्थ उत्पादनमा ध्यान दिई बाहिरबाट आयात हुने दुग्ध पदार्थलाई निरुत्साहित गरि स्वदेशी उत्पदनलाई प्रोत्साहन गर्नतिर लाग्नु आजको प्रमुख आवश्यकता रहेको छ । खुला सीमानाका कारण कहिलेकाहीँ गुणस्तरहीन दुध तथा दुग्ध पदार्थ बाहिरबाट आयात हुँदा भने यहाँका उद्योगी र उपभोक्ता दुवैले समस्या भोग्नु पर्ने अवस्था आइरहेको हुन्छ । यो क्षेत्रलाई नियमन गर्ने कृषि तथा पशुपञ्छी विकास मन्त्रालय र मातहतका निकायले नियमित अनुगमन बढाउने र दुध तथा दुग्ध पदार्थको थप सुधारमा सहयोग गर्न आवश्यक छ । बाहिरबाट आयात हुने बस्तुभन्दा यहाँको उत्पादन आकर्षक र सस्तो हुन सक्ने हो भने बजारमा कुनै समस्या आउने छैन ।
यहाँ हाम्रो देशमा दुधको बजार औपचारिक र अनौपचारिक क्षेत्र दुई किसिमको छ । औपचारिक भनेको पाकेट गरेर लेबलिङ र प्याकेजिङ सहित बजारमा ल्याइएको हुन्छ भने अनौपचारिक भनेको सिधै गोठबाट फ्रेस सामान खुल्ला बेच्नुलाई भनिएको हो। हाल नेपालमा ६२ लाख लिटर दुध दैनिक उत्पादन हुने गरेको छ । त्यसमा ५० प्रतिशत ३२ लाख लिटर दैनिक बजारमा आउन सकेको छैन र उत्पादन कर्ता किसान आफैंले उपभोग गरेको तथ्यांक देखिन्छ । यता अर्को ५० प्रतिशत जुन बजारमा आउँछ त्यसमा ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा र १७ प्रतिशत दुध औपचारिक रुपले बजारमा आउने गरेको देखिन्छ । विगत धेरै वर्षदेखिको यसरी तथ्यांक हेर्दा अनौपचारिक क्षेत्रमा उपभोक्ताको आकर्षण रहेको देखिन्छ । अब औपचारिक क्षेत्रमा काम गर्ने तमाम उद्योगले अनौपचारिक क्षेत्रलाई अनावश्यक कुरा गरेर प्रश्न गर्नुभन्दा पनि आफूमा पनि सुधारको आवश्यक हो कि भनेर सोच्ने समय आएको छ । होइन भने उपभोक्ता औपचारिक क्षेत्रको लेबलिङ प्याकेजिङ सहितको सस्तो बस्तु उपभोग नगरेर बढि मुल्य तिरेर किन अनौपचारिक क्षेत्रमा बिक्रि हुने खुल्ला दुध र दुग्ध पदार्थ उपभोग गरिरहेका छन् त ? यो जटिल प्रश्न हो । यसमा अब सबैले ध्यान दिन आवश्यक छ । औपचारिक क्षेत्रलाई मात्र हेरिरहेको सरकारी निकायले करिब ३० प्रतिशतको हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने लगायतका तमाम प्रश्न गर्ने औपचारिक क्षेत्रमा काम गर्ने उद्योगले अब आफैं सुध्रिनु पर्ने समय आइसकेको छ । औपचारिक र अनौपचारिक भनेर अनावश्यक तर्क वितर्क गर्नुभन्दा पनि आ–आफु सुधारमा लाग्नु र आफ्नो उत्पादनले उपभोक्ताको मन जित्नु नै आजको प्रमुख आवश्यकता रहेको छ । औपचारिक रूपमा पास्चराइज गरेर दुध तथा दुग्ध पदार्थ उत्पादन गरिरहेका सातै प्रदेशका उद्योगहरू आफैंमा राम्रो भएर गुणस्तरीय बस्तु उत्पादन गरेर अगाडी बढ्दा अनौपचारिक क्षेत्र अब आफैँ बिस्तार हट्दै जानेछन् । अब ढिला नगरी अनौपचारिक क्षेत्रको होस् वा औपचारिक क्षेत्रको होस् सबै मिलिजुली अगाडि बढि आम उपभोक्ताको आवश्यकता अनुसार आफ्ना उत्पादन बजारमा ल्याई आयातित बस्तुलाई निरुत्साहित गर्नु नै पहिलो चुनौती रहेको छ । अब बिस्तार समय अनुसार अनौपचारिक दुग्ध कारोबारलाई औपचारिक क्षेत्रमा ल्याउनुु पर्ने हुन्छ । भएका उद्योग आफ्नो क्षमता अनुसार नचल्ने र बिना अध्ययन नयाँ उद्योग खुल्ने काम भइरहको छ अब त्यसलाई पनि बिस्तार अध्ययन गरि आवश्यक मात्रा उद्योग खोल्न दिनुपर्ने हुन्छ । यसमा राज्यको ध्यान पुुग्नु पर्छ ।
एकातिर भएका उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् भने साना डेरीहरूले लगानी गर्न नसकेर अनौपचारिकरूपमा दुध तथा दुग्ध पदार्थ बेचिरहेका छन् । अब साना डेरीलाई बन्द गर्नुपर्छ भन्नुभन्दा पनि बिस्तार लगानी बढाउँदै उद्योगमा परिणत गर्दै लैजान राज्यले प्रोत्साहन गर्नुपर्ने हुन्छ । एकआपसमा आवश्यक समन्वय गर्न सकियो भने मात्र अनौपचारिक क्षेत्रमा रहेको दुधलाई पनि प्रशोधन गरि बिस्तार मुल धारमा ल्याउन सकिन्छ । यसका लागि पूर्ण क्षमतामा चल्न नसकेका उद्योगले साना डेरीहरूको दुध उनीहरूकै ब्राण्डमा प्रशोधन गरिदिने, आवश्यक भएका सामान उपलब्ध गराउने र एक आपसमा सहयोग गर्ने व्यवस्था गर्नुपर्छ ।
यसो गर्दा साना डेरीले पनि ठूला उद्योग खोल्न थप लगानी गर्नु परेन भने औपचारिक रुपमा संचालन रहेका डेरीलाई पनि आफ्नु उत्पादन क्षमता बढाउन सहयोग पुग्ने छ । यसरी एक आपसमा मिलेर काम गर्दा सबैलाई फाइदा हुन पुग्छ । यसरी जाँदा साना डेरीहरूले पनि पास्चराइज गरिएको गुणस्तरीय उत्पादन उपभोक्तालाई खुवाउन सक्छन् । तर यसमा सरकारले निश्चित मापदण्ड बनाई भएका उद्योगको सदुुपयोग गर्ने र अनौपचारिक बजारलाई औपचारिक क्षेत्रमा ल्याउने प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । राज्यले नै पास्चराइज वा कन्भर्जन चार्ज तोकि सबैलाई बराबर हित हुने निति बनाएर सम्बन्धित निकायले छलफल गरि अगाडि बढ्दा यो यस्तो किसिमको कार्यले सबैको हित हुने देखिन्छ र अहिलेको अनावश्यक विवाद पनि बिस्तार मेटिन्छ । –नव क्षितिज साप्ताहिकबाट








