काठमाडौं, लामो समयदेखि सत्ता गठबन्धनको समस्या बनेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) हिजोदेखि झनै पेचिलो बनेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरूको चर्काे आलोचना भइरहेको छ ।
पत्रमा देउवा र प्रचण्डले अमेरिकाले एमसीसी कार्यक्रमअन्तर्गत नेपाललाई उपलब्ध गर्ने ५० करोड अमेरिकी डलर आउँदो १६ फागुनसम्म संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छन् । देउवा र प्रचण्डले उक्त पत्र एमसीसीको अध्यक्षलाई २९ सेप्टेम्बर २०२१ मा लेखेका थिए । पत्रमा देउवा र प्रचण्ड दुवैको हस्ताक्षर छ । देउवा र प्रचण्डले मर्यादा विपरीत एमसीसीलाई पत्र लेखेका कारण उनीहरुको व्यापक आलोचना भइरहेको हो ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच हिजो यो लगायत बिषयमा छलफल भएपनि निष्कर्ष भने केहि आएन । प्रधानमन्त्री देउवाको आमन्त्रणमा देउवा, ओली र दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भएको हो । भेटमा स्थानीय तहको निर्वाचन, (एमसीसी) र संसद् खुलाउने विषयमा छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी भएको छलफलमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद्बाट एमसीसी अनुमोदन गर्नेलगायत अन्य विषयमा सरकारलाई सघाउन आग्रह गरेका थिए भने जवाफमा एमाले अध्यक्ष ओलीले पहिले सरकारको तर्फबाट स्पष्ट धारणा बनाउन आग्रह गरेका थिए ।
बैठकबारे जानकारी गराउँदै एमाले महासचिव शंकर पोखरेलले एमालेले यसबारे पहिले सत्ता पक्षमा स्पष्ट निर्णय हुनुपर्ने आफ्नो अडान राखेको बताए । ‘प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउनुपर्छ भन्ने थियो,’ पोखरेलले भने, ‘प्रचण्डको धारणा पनि प्रतिपक्षले संसद खोलोस् र चुनावपछि मात्रै एमसीसीबारे विचार गर्ने कुरा प्रतिपक्षसहित प्रस्ताव गरौं भन्ने थियोे ।’ संसद खोल्नेबारे सभामुखको कदम सच्चिनुपर्ने भनाइ दोहो¥याएको पनि पोखरेलले बताए । ‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौं सभामुखबाट भएको कमजोरी सच्याउनुप¥यो,’ उनले भने, ‘१४ जना गैर सांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ ।’
पोखरेलले स्थानीय तहको चुनाव समयमै हुनुपर्छ भन्ने अडान एमालेले राखेको र यसमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको पनि बताए । देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव भने एमसीसी चुनावपछि मात्र अघि बढाउने प्रस्ताव गरौं भन्ने थियो । –नव क्षितिज साप्ताहिकबाट