माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले तनावमा रहेको बेला राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । जस अनुसार यस वर्षको एसईई आगामी वैशाखमा सञ्चालन हुने भएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने बताउनुभयो । आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसईई सञ्चालन गर्न समस्या देखिएको हो ।
सुगम स्थानका विद्यार्थीले अनलाइनबाट पनि पठनपाठन गरे तर दुर्गमका र अनलाइनको पहुँच नभएकाको कोर्स सकिएको छैन । विगतमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक गर्ने प्रचलन थियो भने चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो । कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन गर्नु परेन । विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । परीक्षा हुन नसक्दा २०७६ सालको एसईईको प्रश्नपत्र जलाइएका थिए भने २०७७ सालको एसईईको प्रश्नपत्रलाई बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (सानोठिमी)मा अझै सुरक्षित राखिएको छ । गत वर्षकै प्रश्नपत्रलाई यस पटक पुनः प्रयोग गर्नका लागि भनेर सुरक्षित राखिए पनि त्यसबारेमा निर्णय भइसकेको छैन । –नव क्षितिज साप्ताहिकबाट








