नजिकियो मकरमेला, तयारी तिव्र


 

पनौती, आगामी माघ महिनाभर पनौतीको त्रिवेणीघाटमा लाग्ने १२ वर्षे मकर मेलाको तयारी तिव्र रुपमा भैरहेको छ । पनौती नगरपालिकाले पत्रकार सम्मेलन गरेर मकर मेलाको तयारी बारे जानकारी गराएको छ ।
यहि क्रममा मकर मेलालाई व्यवस्थित बनाउनको लागि माघ महिनाभर पनौतीमा ट्रिपर सञ्चालनमा रोक लगाइएको जानकारी दिइएको छ । नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत एवं मकर मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले मेलामा श्रद्धालुभक्तजनहरुको उपस्थिति बाक्लो हुने भएकाले ट्रिपर सञ्चालनमा रोक लगाइएको बताए ।
मकर मेला मुल आयोजक व्यवस्थापन समितिले यहि माघ १ गतेदेखि पनौतीमा लाग्ने मकरको तयारीका बारे जानकारी गराउदै मकर मेला व्यवस्थापनका लागि ८ करोड बजेट बिनियोजन गरिएको जानकारी दिएको छ । मेला मुल व्यवस्थापन समितिका अनुसार यतिवेला लागी विभिन्न समिति निर्माण भइसकेको छ भने समितिहरुले आफ्नो काम अगाडि बढाएका छन् ।
मेलाका लागी पनौती आउने भक्तजनहरुका लागी पार्किङ स्वागतद्धारको तयारी भईरहेको छ । विभिन्न स्थानमा वैकल्पीक सडकको व्यवस्थापन भएको छ । मठमन्दिर सफा गर्ने र रंगरोगनको काम भएको छ पनौतीको मकर स्नान गर्ने पानिलाई सफा एवं स्वच्छ बनाउने काम भइरहेको छ । पनौतीको पहिचान स्थापित हुने गरि तयारी अगाडि बढाईएको मुल व्यवस्थापन समितिका प्रमुख पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले बताउँनु भयो । इन्द्रेश्वर मन्दिर स्नान गरिने त्रिवेणीघाट वरपर संगै रहेका मन्दिर र गोरखनाथ सम्मको क्षेत्रमा भक्तजनहरुका लागि सहज रुपमा व्यवस्थापनको तयारी भइरहेको छ । मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानको लागि त्रिवेणीघाट वरिपरि बेलिब्रिज र मानेश्वरी बसपार्कबाट त्रिवेणीाघाटसम्म पुण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थल लगायतका भौतीक संरचना निर्माण कार्य द्रुतगतिमा अघि बढाईएको छ । पनौती नगरले ढुङ्गेधारा मर्मत थप धाराहरुको व्यवस्था फुटपथ मर्मत, ऐतिहासिक पाटिका जस्तापाता निकालेर झिङ्गटिले छाउने रथहरुको आवश्यक मर्मत गरि तयारी अवस्थामा राख्ने सडक बत्तिको पर्याप्त व्यवस्था गर्ने काम अगाडि बढेको छ । त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढि तथा रोशिखोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा अस्थाई शौचालय बनाइनेछ । मेला अवधीभरी मल्पी ड्यमबाट नियमितरुपले रोशि खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी ल्याउने काम भैरहेको छ । भौतिक संरचनाको तयारी आगामी पुष २० गते सम्म हुने नगर प्रमुख न्यौपानेले बाताउँनु भयो ।
मेला भर्न हिन्दु धर्मालम्बीहरु नेपाल तथा भारत सम्मका आउने छन् । मेलामा करिब ५० लाख भन्दा धेरै आउँँने अनुमान गरिएको छ । ५० लाख भन्दा धेरै भक्तजनहरु आउनेभएपछि त्यहि अनुसारको तयारी समेत गरिएको मुल व्यवस्थापन समितिले जनाएको छ । तात्कालिन राजा प्रताप मल्लले वि सं.१७२७ मा रानीपोखरी बनाईसकेपछि विभिन्न तिर्थस्थलको जल राख्ने क्रममा पनौती स्थित त्रिवेणीघाटको जल पनि राखिएको शिलालेखमा उल्लेख गरिएको इतिहास विद्ले जनाएका छन । तीन नदिको संगमस्थल त्रिवेणी घाटमा पुण्यमाता र रोशी खोला बाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ ।
भारतको प्रयागमा गंगा र यमुना नदिको संगममा गुप्त रुपले सरस्वती मिसन नदि बहेझै पनौती स्थित रोशीलाई रुद्रावती नदि, पुण्यमाता नदिलाई लीलावती र गुप्तरुपले बगेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दुध बग्ने नदीलाई पद्यमावती मानिन्छ । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्