पनौती गोरखनाथ क्षेत्रमा पंचधातुबाट निर्माण गरिएको गणेश मुर्तिको दर्शन माघ ४ गतेबाट सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ। पनौतीको ऐतिहासिक बाह्रबर्षे मकरमेलालाई लक्षित गरि सम्पूर्ण आम भक्तजनका लागि दर्शन खुल्ला गर्न लागिएको हो।

पनौती(६ गोरखनाथ डाँडामा निर्माण गरिएको गणेश मुर्तिमा माघ ४ गते प्राण प्रतिष्ठा हुने र भक्तजनहरुलाई दर्शनको लागि खुल्ला गरिने निर्माण समितीले जानकारी दिएको छ। २०७६ साल पौष २९ गतेदेखि माघ ८ गतेसम्म श्रीमदभागवत् सप्ताह लगाई विभिन्न संघ(सस्था, ब्यक्ति र भक्तजनहरुबाट संकलित चन्दाबाट मुर्ति निर्माण गरीएको गणेश मुर्ति निर्माण समितिका अध्यक्ष रामकुमार बस्नेतले जानकारी दिनुभयो।

गणेश मुर्ति सहितको पार्क निर्माणले भक्तजन आकर्षित गर्नुको साथै उक्त ठाउँको सौन्दर्यता बढाएको छ। गणेश मुर्ति तथा पार्क निर्माणका लागि पनौती नगरपालिकाबाट अनुदान चन्दा स्वरुप ५ लाख, वडा नम्बर(६ को तर्फबाट २ लाख १ हजार सहयोग प्राप्त भएको थियो। यस्तै अन्य रकम भने विभिन्न ब्यक्तित्व तथा भक्तजनबाट चन्दा तथा सहयोग स्वरूप संकलन गरिएको थियो।