हुस्सु र कुहिरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द



 

बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । भिजिबिलिटी शून्य भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् । भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ । गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्