नेकपा एमालेले आगामी पौष २३ गते सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । जारी एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई नियुक्त गरेको छ । साथै बैठकले नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीभित्रका तीनथरी मनोविज्ञानको भावनात्मक एकता कायम गरेको निष्कर्ष निकालेको छ । बैठकमा प्रस्तुत गरिएको समिक्षा प्रतिवेदनमा महाधिवेशनबाट अब एमालेमा फरक गुट र विचार नरहेको उल्लेख छ ।
नेकपा एकताका क्रममा समावेश भएको माओवादी धार, नेकपा विभाजनका बेला शुरुदेखि नै नेतृत्वको पक्षमा गोलबन्द भएको मूलधार र १० बुँदे सहमतिपछि क्रियाशील मनोविज्ञानलाई भावनात्मक रुपमा एकताबद्ध गर्दै थप सुदृढ बनाएको एमालेले निष्कर्ष निकालेको छ ।
त्यस्तै यसपटकबाट एमालेमा विधिसम्मत स्वस्थ प्रतिस्पर्धा र सहमति दुवै प्रक्रिया अपनाइएको उल्लेख छ ।








