बनेपा, आउदो मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने १४औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको काभ्रेमा प्रदेश सभासम्मको अधिवेशन सकिएको छ । भने आज क्षेत्रिय र १० गते जिल्ला अधिवेशन हुदै छ ।
कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार देशका अधिकांश जिल्लामा प्रदेशसभा क्षेत्रको अधिवेशन आयोजना गरेको थियो । सोहीअनुसार काभ्रेका चारवटा क्षेत्रमा चुनाव भएकोमा तीनवटामा मतदान भयो भने एउटा क्षेत्रमा निर्विरोध क्षेत्रीय समिति चयन भएको थियो ।
परिणामअनुसार काभ्रेका चारवटा प्रदेशसभा क्षेत्रमध्ये तीनवटामा शिव हुमागाईं समर्थित प्यानल विजयी भएको छ भने एउटा क्षेत्रमा मधु आचार्यनिकट नेता सभापतिमा विजयी भएका छन् । सबैभन्दा अन्तिममा परिणाम आएको क्षेत्र नम्वर २ ख मा मधु आचार्य प्यानलका रामहरि श्रेष्ठ विजयी भए । श्रेष्ठ जम्मा दुई मतको अन्तरले सभापतिमा निर्वाचित हुँदा शिव प्यानलका भगवान अधिकारीले हार बेहोर्नुपर्यो । श्रेष्ठले २९९ मत पाए भने अधिकारीले २ सय ९७ मत पाए ।
यस अधि काभ्रे क्षेत्र नम्वर १ अन्तर्गत प्रदेशसभा क मा रामवहादुर योन्जनको नेतृत्वमा शिव हुमागाईं प्यानलका अधिकांश निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी क्षेत्र नं. १ (ख) मा शिव हुमागाई प्यानलका चन्द्रवहादुर लामा विजयी भए । उनले ४१३ मत पाउँदा मधु आचार्य समर्थित रोजनराज पाण्डेले २१२ मत ल्याएका थिए ।
यस्तै क्षेत्र नम्वर २ को प्रदेशसभा क मा शिव प्यानलका हेमकुमार तामाङ निर्वाचित भए । उनले पाँचखाल नगरपालिकाकी उपमेयरसमेत रहेकी लक्ष्मी दनुवारलाई पराजित गरे । लामाले ३ सय ३ मत पाउँदा दनुवारले २ सय ४८ मत पाएका थिए ।

यसैबिच आज हुने प्रतिनिधिसभा क्षेत्रको निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र न १ को सभापतिमा दिनेश लामाको उम्मेदवारी रहेकोे छ । लामा अहिले नेपाली काँग्रेस काभ्रेको जिल्ला सचिव रहेका छन । पार्टीमा बौद्धिक नेताको रुपमा रहेका लामाको उम्मेदवारी बिरुद्ध गतिलो प्रतिस्पर्धी नभएका कारण उक्त क्षेत्रमा सर्वसम्वत नेतृत्व चयनहुने सम्भावना रहेको छ । लामाको टिमबाट सचिवमा विद्या सागर लामा र किशोर गिरि तथा सहसचिव पदमा पदम बहादुर लामा र गणेश अधिकारी रहेका छन ।
त्यस्तै काभ्रे प्रतिनिधिसभा क्षेत्र नं २ मा भने शिव प्यानल र मधु प्यानलका उमेदवार विच कडा प्रतिस्पर्धा हुदै छ । यो क्षेत्रमा शिव प्यानलबाट सभापतिमा सुन्दरमणि आचार्य र मधु प्यानलबाट सभापतिमा महेश खरेल नेतृत्वको टिमबिच चुनावी प्रतिस्पर्धा हुने छ ।

यो संगै मंसिर १० गते हुने काभ्रे कांग्रेसको जिल्ला सभापतिमा शिव प्यानलबाट तीर्थ लामाको उम्मेदवारी घोषणा भएको छ । यो प्यानलले सभापतिको घोषणा प्रदेश क्षेत्र निर्बाचन अघि नै गरेको हो । यो प्यानललले पनि अन्य पदाधिकारी र जिल्ला सदस्यहरुको उम्मेदवारी घोषणा भने गर्न सकेको छैन । उता मधु प्यानलले भने जिल्ला सभापतिको पनि उमेदवार घोषणा गर्न सकेको छैन । बिद्यान अनुसार सभापति उमेदवार बन्न महाधिवेशन प्रतिनिधि जित्नु पर्ने हुन्छ । त्यो जित्ने पक्का भएका नेता नभएकाले सभापतिको उमेदवारी घोषणा हुन नसकेको मधु प्यानल निकट एक नेताले बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधि जितेर आएमा तिर्थ पसखल, अच्युत पौडेल र कञ्चन वादे मध्येबाट सभापतिका उमेदवार हुनेछन । –नव क्षितिज साप्ताहिकबाट