बनेपा, ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रिय जनगणना–२०७८ काभ्रेमा पनि जिल्ला भरि नै उत्साहपूर्ण ढंगले शुरु भएको जिल्ला जनगणना अधिकारी दिपक कोइरालाले बताएका छन् ।
जिल्ला जनगणना अधिकारी कोइरालाले बिहिबार पत्रकार सम्मेलन मार्फत गणकहरु बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म गणकहरुले काम गर्ने बताए । ५५ वटा प्रश्नावली पुरा गर्न २५ देखि ३० मिनेटसम्म लाग्ने बताउँदै जनगणना अधिकारी कोइरालाले अधिकांश गणकहरु स्थानीय भएकोले यो पटकको तथ्यांक वास्तविक र गुणस्तरीय आउनेमा आफुहरु विश्वास्त रहेको बताए ।
कोइरालाले घरमा आउने गणकहरुलाई आफ्नो विवरण टिपाएर सहयोग गरिदिन सबैमा अनुरोध समेत गरेका छन् । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यो पटक अघिल्लो दश वर्ष अघिको जस्तो त्रृटि नदोहोरिने भन्दै यो पटक काभ्रे जिल्लाको यर्थाथपरक तथ्यांक आउनेमा ढुक्क हुन आग्रह गरे ।
जिल्लाभर ५ सय ११ जना गणक फिल्डमा खटिएका छन् । त्यस्तै १२७ जना सुपरीवेक्षक परिचालित छन् । जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, भकुण्डेबेसी, कटुन्जेबेसी र भुम्लु गाउँपालिकामा गरी ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । गणकहरु घर घरमा पुग्ने छन् । तथ्यांक संकलनको काम आगामी मंसिर ९ गते सकिने छ ।
गणकहरुले फिल्डमा भरेको फारम जिल्ला जनगणना कार्यालयले मंसिर १० देखि १४ गतेसम्म संकलन गरिसक्नेछन् । जिल्लाको ६ वटै स्थानीय जनगणना कार्यालय मंसिर १५ गते बन्द हुने छ । मंसिर १९ गतेदेखि २८ गतेसम्म जिल्ला जनगणना कार्यालय काभ्रेले फिल्डमा भरिएका फारम संकलन गरेर तथ्यांक विभागमा पठाउने छ ।
सबैभन्दा बढी सुपरीवेक्षक पनौती नगरपालिकामा १७ जना छन् । त्यहाँ ६७ जना गणक रहेका छन् । सबैभन्दा बढी गणक बनेपा नगरपालिकामा ८९ जना रहेका छन् भने सुुपरीवेक्षक १५ जना रहेका छन् । धुलिखेल नगरपालिकामा ११ जना सुपरीवेक्षक र ४६ जना गणक, बेथानचोक गाउँपालिकामा ५ जना सुपरीवेक्षक र २० जना गणक, पाँचखाल नगरपालिकामा १४ जना सुपरीवेक्षक र ४९ जना गणक रहेका छन् ।
त्यस्तै मण्डनदेउपुर नगरपालिकामा १२ जना सुपरीवेक्षक र ४४ जना गणक, भुम्लु गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २७ जना गणक, चौरीदेउराली गाउँपालिकामा ८ जना सुपरीवेक्षक र २६ जना गणक, रोशी गाउँपालिकामा १० जना सुपरीवेक्षक र ३३ जना गणक, महाभारत गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १६ जना गणक, खानीखोला गाउँपालिकामा ५ जना सुपरीवेक्षक र १३ जना गणक, तेमाल गाउँपालिकामा ७ जना सुपरीवेक्षक र २८ जना गणक तथा नमोबुद्ध नगरपालिकामा १० जना सुपरीवेक्षक र ३९ जना गणक रहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ ।
पुसदेखि जनगणना तथ्यांक प्रविष्टि गरिने र त्यो पूरा गर्न ६ देखि ८ महिना लाग्ने पत्रकार सम्मेलन गरेर जिल्ला तंथ्याङ्ग कार्यालय काभ्रेले जनाएको छ । प्रारम्भिक नतिजा जनगणना सम्पन्न भएको तीन महिनाभित्र र सम्पूर्ण नतिजा प्रकाशनका लागि भने दुई वर्ष लाग्ने विभागको भनाइ छ ।

नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । २०२८ सालको सातौं जनगणनामा कम्प्युटर मेसिनबाट आँकडा प्रशोधन सुरु गरिएको थियो ।

जनगणना दुई प्रकारले गर्ने चलन छ । जो जहाँ भेटिन्छ, त्यहींबाट निजको गणना गर्ने विधिलाई ‘डिफ्याक्टो’ भनिन्छ । यसमा व्यक्तिले अक्सर बसोबास (६ महिनाभन्दा बढी समय रहने) गर्ने थलोबाट व्यक्ति तथा परिवारको गणना गरिन्छ । नेपालमा दोस्रो विधिबाट जनगणना गर्ने गरिएको छ । यसलाई रूपान्तरित विधि गणना (मोडिफाइड डेजुरे मेथड अफ काउन्टिङ) भनिन्छ ।
संगै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा ‘ई–सेन्सस’ विधिबाट त्यहाँ कार्यरत कर्मचारी र आश्रित व्यक्तिको विवरण लिइनेछ । कोही छुटे विभागको टोलफ्री नम्बर ११७८ वा वेबपेजमा सम्पर्क गर्न सक्ने विभागले जनाएको छ । –नव क्षितिज साप्ताहिकबाट