धुलिखेल, नेकपा (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको भन्दै न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताएकी छिन ।
नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले अहिले मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने गरेको भन्दै समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको धारणा राखिन् । अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुने बताउदै मन्त्री झाँक्रीले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।
उनले एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाप्रति लक्षित गर्दै ७० करोड काण्डले काभ्रेमा विकास निर्माण पछि परेको दाबी गरिन् । उनले अहिले पनि धेरै ठाउँमा तुलो भन्ने बित्तिकै केपी शर्मा ओली र पैसाको कुरा आउँदा गोकुल बाँस्कोटाको नाम आउने गरेको टिप्पणी गरिन् । झाक्रीले यस्तो पक्षबाट सजग रहन सम्पूर्णलाई आग्रह समेत गरेकी छन् ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्धय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई, काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, उपकुलपति डा. भोला थापा, नेपाली काँग्रेस काभ्रेका क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका दिपदयाल सोजु, जातीय उत्पीडित मुक्ती समाजका पदम विक, अखिल नेपाल महिला संगठनकी पासाङ डोल्मो तामाङ लगायतले बोलेका थिए । कार्यक्रममा धुलिखेल नगर अध्यक्ष दयासागर योगलको सभापतित्वमा भएको थियो । –नव क्षितिज साप्ताहिकबाट








