काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडर बीच भेटवार्ता भएको छ ।
राजदूत गोडरले मेयर खरेललाई पाँचखाल स्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट गर्नु भएको हो । भेटमा कृषि क्षेत्रमा दुई पक्षीय साझेदारीका बिषयमा छलफल भएको मेयर खरेलले जानकारी दिए । ‘इजरायल र पाँचखाल नगर बीच कृषि क्षेत्रलाई आधुनिकिकरण र नयाँ प्रबिधी भित्र्याउने बिषयमा छलफल भयो । केहि समयमानै यसले मुर्त रुप लिनेछ । चाँडैनै नगर र इजरायली राजदुतावास बिचमा समझदारी हुदैँछ’ मेयर खरेलले भने ।
कुराकानीको क्रममा कृषकलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा छलफल समेत भएको थियो । साथै इजरायलले पाँचखालका किसानहरुलाई आधुनिक खेति प्रणली तथा प्ररम्परागत खेति भन्दा नगदेबालीका विषयमा तालिम समेत दिईने विषयमा कुराकानी भएको मेयर खरेलले जानकारी दिए ।
पाँचखाल नगरपालिकाले बजेटको ठूलो हिस्सा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । पाँचखाल नगर कृषि शहर मुल मन्त्र बनाएर नगरपालिकाले काम गर्दै आईरहेको छ । पाँचखाल नगरपालिका ताजा तरकारी र अन्न उत्पादनका हिसाबले काभ्रे जिल्लाकै सबैभन्दा राम्रो क्षेत्र मानिन्छ । तर सिंचाई अभावमा सोचेजति किसानले आम्दानी लिन भने सकेका छैनन् ।
कृषिमा इजरायली प्रविधि, ज्ञान र सीप विश्वमै उत्कृष्ट मानिन्छ । त्यहि प्रविधिलाई पाँचखाल जस्तो उर्वर भूमिमा प्रयोग गर्न सके अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय तरकारी र फलफूल उत्पादनमा सकिने मेयर खरेलको विश्वास छ ।