काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमको विशेष पहलमा उनीहरूलाई बुधवारबाट सामाजिक सुरक्षा भत्ता घर–घरमा वितरण गर्न थालनी भएको छ ।
आर्थिक वर्ष ०७७।०७८ को सामाजिक सुरक्षा भत्ता बैङ्कसम्म पुगी लिन नसक्ने लाभग्राहीहरूलाई गाउँपालिका, वडा कार्यालय र एन.सी.सी. बैङ्क चौंरीदेउराली शाखाको समन्वयमा घरदैलो मै पुगेर हात हातमा वितरण गरेको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए ।
यो कामको सुरुवात चौंरीदेउराली गाउँपालिका वडा नं. ७ माँदनकुडारीबाट सुरुवात गरेको छ । यहाँका ८० वर्ष माथिका वृद्ध–बृद्धा र ‘क’ वर्गको अपाङ्गता भएका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष गौतमले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता दया वा मायाले पाउने नभई उनीहरूको अधिकार भएकोले घर–घरमै पुगेर वितरण गरेको गौतमले बताए । ‘सामाजिक सुरक्षा भत्ता कुनै दया वा माया लागेर दिएको भत्ता होइन, यो उहाँहरूको अधिकार हो ।’ उनले भने, ‘जीवन भर उहाँहरूले राष्ट्रको लागि ठूलो योगदान पुर्याएउनु भएको छ । जिउँदो इतिहास हुन् उहाँहरू । त्यसैले बैङ्कसम्म पुग्न नसक्नेलाई घर–घरमा पुर्यालउनु स्थानीय सरकारको दायित्व हो । त्यहीं दायीत्व हामीले पूरा गरेका हौं ।’
यो अभियान प्रत्येक वडामा सञ्चालन गर्ने अध्यक्ष गौतमले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता घर–घरमै पाएपछि लाभग्राहीहरू खुसी भएका छन् ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडाको प्रतिनिधित्व गर्दै घरदैलो अभियानमा वडा सदस्य झम्क बहादुर गौतम, पालिकाबाट पञ्जीकरण इकाईमा कार्यरत कर्मचारी एम.आइ.एस. अपरेटर अनिल तामाङ, बैङ्कको तर्फबाट असिस्टेन्ट सञ्जीव लामा लगायतका पुगेका थिए ।








