एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ–अहिले धारणा बनाउँदैनौं


काठमाडौँ, बिहीबार काठमाडौं आइपुगेकको एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा पुगेको हो ।

भेटमा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने भएको छ । आफ्नो निवास बालकोटमा बिहीबार भेट्न आइपुगेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई अध्यक्ष ओलीले उक्त जवाफ दिएका हुन् ।

सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले राम्रो सन्देशलाई जानकारी दिए ।

‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्टराईले भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

आफूहरु सरकारमा रहँदा पनि सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको उपाध्यक्ष सुमारसँग बताएका थिए ।

भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

सरकारबाट हटेपछि एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन । सरकारमा रहँदा अनुमोदनका लागि दबाब दिएको एमाले सरकारबाट हटेपछि पनि अनिर्णित छ ।

भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्