मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको शुक्रवार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार अधिवेशन अन्त्य गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषद्को सिफारिस लगत्तै नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।
गत जेठ १६ गतेदेखि सञ्चालनमा भएको बागमती प्रदेशसभाको आठौँ अधिवेशनले हालसम्म २४ वटा बैठक बसेको थियो ।
त्यस अवधिमा प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । त्यसैगरी प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित र प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।
यसै अधिवेशन बैठकको भदौ २ गते बागमती प्रदेश सरकार परिवर्तन भएको थियो ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिनुभए लगतै प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको थियो । उहाँ मुख्यमन्त्री हुनुभएपछि दुई वटा मन्त्रिपरिषद् बैठक बसिसकेको छ ।