बनेपा, इलाका प्रहरी कार्यालय बनेपाले नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने भुम्लु गाउँपालिका–८ का कुमार परियार, कुमारकै भाई शुरेस परियार तथा पाँचखाल १० का कुमार परियारलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका तीनै जना नातेदार हुन । कुमार र सुरेश दाजुभाइ हुन् भने अर्का कुमार सुरेशको साढुभाइ हुन् । बनेपा नगरपालिका वडा नं ५ का २८ बर्षिय पुरुषको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका–५ का वडा अध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गौला तस्करहरुले बिक्री गराएको जानकारी गराएपछि प्रहरीले घटनामा संलग्नहरूको खोजी शुरु गरेको थियो ।
भारतको कोलकत्तास्थित मुकुन्दपुरमा रहेको एमआरआई अस्पतालमा ५ लाख रुपियाँमा आफ्नो मिर्गौला बिक्री गरी २०७७ चैत्रमा ती युवक घर फर्किएका थिए । उनलाई दीपक श्रेष्ठ नामको नागरिकता दिलाएर दिदीको नाता लगाएर कल्पना श्रेष्ठलाई मिर्गौला दिन लगाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । by nawa kshitiz weekly








