मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।
नगर प्रमुख डम्बर अर्यालले जारी गरेको अपिलमा वर्षातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्तो काममा नलाग्न भनिएको छ ।
भित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको भन्दै बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले जनाएको छ ।
गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा जारी अपिलमा भनिएको छ ।








