काठमाडौं, इङ्ल्यान्डलाई पेनाल्टीमा ३(२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ ।

आज बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३(२ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १(१ गोलको बराबरीमा टुङ्गिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी शुटआउटमार्फत लिइएको थियो ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए ।

इङ्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुसीले बराबरी गोल फर्काएका थिए ।

डिफेन्डर लियोनार्दो बोनुसीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुसी र फेडेरिको बर्नाडेसी गोल गरे भने इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे ।

सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।