बनेपा, राष्ट्रिय मानव अधिकार आयोग बामती प्रदेश कार्यालयका कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले कोभिड–१९ र त्यसको प्रभावका बारेमा काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल, धुलीखेल, पनौती र बनेपा नगरपालिका पुगेर मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गरेको छ । आयोगको अनुगमन टोलीले जिल्ला कारागारका कैदी बन्दीको मानव अधिकारको अवस्थाका बारेमा अनुगमन गर्नुका साथै बेथानचोक गाँउपालिका र रोसी गाउपालिकाको समेत अनुगमन गरेको छ ।
अनुगमन टोलीले औषधी तथा स्वास्थ्य सामग्री आपुर्तिको अवस्था, अक्सिजन उत्पादन तथा वितरण, स्वास्थ्य पूर्वाधारको अवस्था, सिमान्तकृत समुदायको अवस्था, उपभोक्ताको अधिकार, आईसोलेसन केन्द्रहरुकोको अवस्था, स्वास्थ्यकर्मी र सुरक्षकर्मीको स्वास्थ्य अवस्था, शव व्यवस्थापन, सुरक्षाका स्वास्थ्य सामग्रीहरुको उपलब्धता, खोपको उपलब्धता विषयमा अनुगमन गरेको हो ।
टोलीले अनुगमनका क्रममा जिल्लामा कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ३७५६२ रहेको र दोश्रो मात्रा खोप लगाउनेको संख्या १२९६० रहेको अनुगमनका क्रममा पाईएको आयोगले जनाएको छ । कोभिसिल्डको दोश्रोमात्रा खोप अभावमा दोश्रो डोज लगाउन नपाउदा पहिलो मात्रा खोप लगाएका व्यक्तिहरु जोखीममा रहेको तथ्य प्राप्त भएको अनुगमनका क्रममा कोभिड संक्रमणका कारण काभ्रे जिल्लाका १५५ जना र अन्य जिललाबाट उपचारको क्रममा काभ्रे जिल्लाका विभिन्न अस्पतालमा उपचारार्थ भर्ना भएका ५८ जना गरी जम्मा २१३ जनाले मृत्यूवरण गर्नु परेको र जिल्लाभरी जेठ २९ गते सम्म १६६४ जना सक्रिय संक्रमित रहेको अनुगमन टोलीका सदस्य लोकनाथ घिमिरेले बताए ।
आयोगका सहसचिव एवं अनुगमन टोलीका सयोजक यज्ञप्रसाद अधिकारीले अनुगमनका क्रममा कारागारमा रहेका १०८ थुनुवा र १३० कैदीहरुलाई खोपको दुवै मात्रा पुरा गरेका कारण कोही कैदी बन्दी सक्रमित हुनु नपरेको तथा अनुगमनका क्रममा खोप लगाएको कारण फण्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मीहरु पहिलो चरणको जस्तो संक्रमित भएको नपाईएकोले पहिलो र दोश्रो डोज खोपको समयमा नै सवै नागरीकलाई सुनिष्चितता गर्न नेपाल सरकारलाई सिफारिस गर्र्ने उल्लेख गर्दे यो महामारी विरुद्ध एकजुट भएर लड्न र आम नागरिकलाई सचेता अपनाउन र सर्तक गराउनका लागि अनुगमन गरेको उल्लेख गर्नु भएको थियो ।
अनुगमनटोलीमा रारा कर्माचार्य, लोकनाथ घिमिरे रहनु भएको थियो भने अनुगमन टोलीलाई मानव अधिकार संगठन काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्ष राजु सिग्देलले सहजीकरण गरेका थिए । –नव क्षितिज साप्ताहिकबाट