सिन्धुपाल्चोक – मंगलबार रातिको वर्षाका कारण गएको पहिरो र बाढीका कारण अस्तव्यस्त बनेको चनौटे- हेलम्बु आसपासका जनताका लागि राहत सामग्री लिएर युवासंघ टोली हेलम्बु पुगेको छ ।
आवश्यकताका आधारमा श्रमदान सहित सहयोग गर्ने उद्धेश्यले ३०० बोरा चामल, १०० थान त्रिपाल, दालमोठ, चिउरा, साबुन, खानेतेल लगाएतका करिव बीस लाखको सामग्री लिएर युवासंघको टोली हेलम्बु पुगेको हो ।
सिन्धुपाल्चोकको एक महत्वपूर्ण बजार मेलम्चीलाई सखाप पार्ने गरि आएको पहिरो र बाढीको उद्गमस्थल हेलम्बु -चनौटे क्षेत्रमा राष्ट्रिय युवा संघ नेपालको टोली गएको हो ।
राहत सामग्री सहितका १५ वटा गाडीमा १५ लाख जतिको सामग्री आज ल्याउन सकिएको र बाँकी भोलिसम्म आइपुग्ने संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र उप अध्यक्ष अमित लामा बताएका छन् ।
विपद व्यवस्थापन टोलीमा ६० जना युवा रहेका र स्थानिय सँगको सहकार्यमा अस्थाई टहरा, भग्नावशेषको व्यवस्थापन लगाएतका कार्य गर्ने पनि पौडेलले बताएका छन् ।
त्यस्तै २४ जनाको संघको टोली मेलम्ची क्षेत्रमा खटिएको पनि उनको भनाई छ ।








