बनेपा, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका कर्मचारीहरुका लागि सकारात्मक सोंच सम्वन्धी तीन दिने तालिम हिजोदेखि सुरु भएको छ ।
नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेको तालिमको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले संयुक्तरुपमा उद्घाटन गरेका थिए । तालिमममा दुईवटा पालिकाका गरी ३० जना कर्मचारीहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई नेपाल सरकारका सहसचिव डा. भीष्म भुषाल र सकारात्मक सोचबारेका प्रशिक्षक डा. राजु अधिकारीले प्रशिक्षण दिनेछन् ।
कार्यक्रमलाई संवोधन गर्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाबीच विगतदेखि नै सहकार्य हुँदै आएको र त्यसैको निरन्तरता स्वरुप संयुक्तरुपमा यो तालिम आयोजना गरिएको बताए । रोशी गाउँपालिका प्रमुख डिबी लामाले कर्मचारीलाई अझै उर्जावान र सकारात्मक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङले कार्यकुशलताका लागि सकारात्मक सोच आवश्यक रहने भन्दै त्यसका लागि अहिले आयोजना गरिएको तालिम प्रभावकार हुने बताइन् । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सकारात्मक सोचले नै दैनिक क्रियालापमा सकारात्मक योगदान पुग्ने भएकाले त्यसैलाई मध्यनजर गर्दै तालिम आयोजना गरएको बताए । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले दुबै पालिकाका कर्मचारीलाई मिलेर क्षमता विकास गरौं भन्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए ।








