काभ्रे, अपराधिक क्रियाकलाप न्यूनिकरणका लागि पछिल्लो समय पाँचखाल प्रहरी चौकीको सक्रियता बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र पाँचखाल प्रहरी चौकीको सक्रियतामा लामो समयदेखि विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
चोरी तथा अपराधिक क्रियाकलाप नियन्त्रणका लागि २४ घण्टा सुरक्षाकर्मी परिचालन गरिएकाले पछिल्लो समय उक्त क्रियाकलापमा कमी आएको पाँचखाल प्रहरी चौकीका इन्चार्ज राजेश अधिकारीले बताए । उनका अनुसार अपराधिक क्रियाकलापलाई न्यूनिकरणका गर्ने कार्यलाई निरन्तरता दिइने र सुरक्षाका गतिविधिलाई प्राथमिकता दिइनेछ । पाँचखाल प्रहरी चौकी नगरबासीको सुरक्षाको लागि हरदम तयार रहेको र यसको लागि स्थानीय नागरिकको पनि साथ सहयोग आवश्यक रहेको उनले बताए ।
सोही क्रममा पाँचखाल प्रहरी चौकीले पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाइएको छ । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ५ खावाका ४० वर्षीय राम प्रसाद आचार्यलाई २०७७ कार्तिक १५ गते पाँचखाल नगरपालिका वडा नं ४ स्थित लामीडाँडामा बा ७७ प ५५१४ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका आचार्यको उपचारको क्रममा मृत्यु भयो । आचार्यलाई ठक्कर दिएर फरार रहेका मोटरसाइकल चालकलाई पाँचखाल प्रहरी चौकीले खोजतलास गर्ने क्रममा २०७७ कात्र्तिक १६ गते पक्राउ गरेको थियो । पक्राउपश्चात चालकलाई कानुनी कावार्हीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको थियो ।
त्यस्तै २०७७ साल कात्र्तिक ९ गते पाँचखाल नगरपालिका वडा नं ३ स्थित अनैकोटमा अन टेस्ट स्कुटरलाई बा७६प ६८९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक दिनेश अधिकारी घाइते भएका थिए । अधिकारीलाई घाइते बनाएर मोटरसाइकल चालक फरार रहेका थिए । प्रहरी उक्त विषयमा अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालकलाई कात्र्तिक २१ गते नियन्त्रणमा लिन सफल भइ थप कावार्हीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।
उदयपुर जिल्लाका प्रकाश थापाको बा ७७ प ६८३७ नं को निलो रंगको रोयल इन्फिल्ड क्लासिक ३५० सिसिको मोटरसाइकल २०७३ साल भदौ २० गते काठमाडौँको चक्रपथ महाराजगंजबाट चोरी भएको थियो । उक्त मोटरसाइकलको खोजतलास गर्ने क्रममा २०७७ मंसिर २३ गते पाँचखाल प्रहरी चौकीले काभ्रेको दोलालघाटमा फेला पारेको थियो । प्रहरीले फेला पारेको उक्त मोटरसाइकल २०७७ पुस ७ गते सवारी धनी थापालाई हस्तान्तरण गरेको थियो ।
त्यस्तै चोरी भएको मोटरसाइकल बरामद गरी चालकलाई कानुनी कार्वाहीका लागि प्रक्रिया अगाडी बढाइएको छ । बागमती प्रदेश ०२०१८प ३५१७ नं को मोटरसाइकलले २०७७ पुस १३ गते पाँचखाल नगरपालिका वडा नं ४ स्थित अरनिको राजमार्ग सडकखण्डमा दुर्घटना गराई चालक फरार भएका थिए । सोही घटनाको विषयमा अनुसन्धान गर्दा उक्त मोटरसाइकल चोरीको भएको पाइएपछि चालकलाई पक्राउ गरी कानुनी कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको थियो ।
कात्र्तिक २५ सुसाइड नोट लेखेर बेपत्ता भएका भक्तपुरका डा.दिगम्बर झाललाई जिल्ला प्रहरी कार्यालय काभ्रे र पाँचखाल प्रहरी चौकीको संयुक्त प्रयासमा डा. झालाई जिल्लाको दोलालघाटबाट सकुशल फेला पारिएको थियो ।








