अरबिन्द्र गौतम, काभ्रे
काभ्रेको धुलिखेल नगरपालिका ४ र ५ मा स्थानीयहरुको सहभागीतामा आकर्षक पार्कहरु निर्माण भएको छ । केही महिना अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा स्थानियहरुले पार्क निर्माण गरेका हुन् । स्थानियहरुको बिशेष सक्रियतामा पार्क बनेको छ । कोरोनाको समयमा धुलिखेल नगरपालिका ५ का स्थानियहरुले लकडाउनको समयमा सुरु गरेको खम्पु पार्कको निमार्ण कार्य सकिएको छ ।
धुलिखेल नगरपालिकाले हरेक वडामा फरक–फरक विशेषतासहितका पार्क बनाउने योजना बनाएको छ । पछिल्लो तीन वर्षमा नगरमा ३३ वटा पार्क निर्माण भएको नगरपालिकाका प्रवक्ता पुष्पराज राउत बताउनुहुन्छ ।

लकडाउनको सदुययोग गर्दै धुलिखेलद –४ बखुण्डोलका युवाहरुले पनि धार्मिक साँस्कृतिक विशेषतासहितको आकर्षक पार्क निर्माण गरे स्थानिय नरध्वज लामाले बताए । बखुण्डोल पार्क निर्माणका लागि हालसम्म २९ लाख खर्च भएको छ ।

 

केही महिना अघिसम्म फोहोर थुप्रने ठाउँमा आकर्षक पार्क बन्ला भनेर धेरैले विश्वास गरेका थिएनन् । फूल रोपेपछि फोहोर फाल्दैनन् र सफा हुन्छ भन्ने सोचबाट सुरु भएको अभियान पार्क निर्माणसम्म पुगेको स्थानिय बाबु काजी श्रेष्ठको भनाइ छ ।

 

पार्कमा परेवा, झरना, हिमाल, फूल बगैँचा तथा विभिन्न जनावरका प्रतिकहरु राखिएको छ । स्थानीयहरुले फुर्सदको समयमा यहाँ आएर छलफल गर्नुका साथै प्राकृतिक आनन्द लिने अर्का स्थानिएले बताए ।

धुलिखेल नगरपालिकाले हरेक वडामा भौगोलिक, धार्मिक, साँस्कृतिक रितिरिवाज अनुसार बुद्ध पार्क, चिल्ड्रेन पार्क, सूर्योदय पार्कलगायतका ठाउँको पहिचान दिने पार्क स्थापना गरेको छ ।