बनेपा – जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ ।
कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फस्यौटका लागि जिल्ला अदालतमार्फत कारागार पठाएको छ । प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेपलाञ्चोकमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।
कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन छ जना पक्राउ परेका छन् । जसमध्ये तीन वर्षदेखि लागुऔषध मुद्दामा छ महिना कैदा फैसला भएका फरार बनेपा नगरपालिका–१२ गोठडाँडाका ४३ वर्षीय टीकाबहादुर तामाङ, पाँच वर्षअघि केही सार्वजनिक अपराध मुद्दामा जरिवाना असुल फैसला सुनाइएका मण्डनदेउपुर नपा–६ का ३१ वर्षका महेश राई र २८ वर्षीय राजन राई, चार वर्षअघि सवारी ज्यानरसरकारी छाप दस्तखत कीर्ते मुद्दामा दुई वर्ष ११ महिना कैद फैसला सुनाइएका पनौती नपा–२ का दीपेन्द्र हुमागाईँ, सात वर्षअघि घर भत्काउने मुद्दामा जरिवाना सुनाइएका बनेपा नपा–१४ का ४८ वर्षीय तिलकबहादुर राई र ठगी मुद्दामा जरिवाना फैसला सुनाइएका धुलिखेल नपा–१ का ३९ वर्षीय यादव घोरासैनी छन् ।
प्रहरीले गत सोमबार लागुऔषध मुद्दामा छ वर्षदेखि फरार प्रतिवादी रोशी गाउँपालिका–११ का २९ वर्षीय राजीव भन्ने मणिराज श्रेष्ठलाई पक्राउ गरी कैद तथा जरिवाना बेरुजू फस्यौटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरेको थियो । गत हप्ता पनि प्रहरीले अयिभान शुरुआतमा विभिन्न मुद्दाका फरार अन्य पाँच फरार प्रतिवादीलाई पक्रेको थियो । उनीहरूलाई फरार प्रतिवादी खोजतलासका क्रममै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिसकेको छ ।
कैद भुक्तानका लागि अदालत पठाइएकामा वनपैदावार हानी–नोक्सानी, सवारी दुर्घटना गराई अङ्गभङ्ग गराएको, जातीय छुवाछूत तथा भेदभाव मुद्दामा संलग्नलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला कारागार धुलिखेलमा राखिएको छ ।








