छोरीको बिहे-दिपा गुरुङ


तल उल्लेख गरेका संग मिल्दो जुल्दो बिशेषता भएका अरु पनि थुप्रै केटाहरु संग छोरी प्रतिष्ठाको बिहेको कुरा चलेको थियो मैले सबै उल्लेख गर्न सकिन । हाम्री छोरी संग जस्तै अरुको छोरी र छोराहरुमा पनि यी र यस्ता कुरा मिलेका होलान । हाम्री प्रतिष्ठा त एक प्रतिनिधि पात्र मात्र हुन् ।

छोरी प्रतिष्ठाले बिएससी नर्सिङ सिध्याई, सानै देखि राम्रै पढ्थी । एकपटक सिकाएपछि सिकीहाल्थी, फेरी दोहोर्याएर सिकाउन पर्दैनथ्यो र हतपत्त बिर्सिन्न पनि थिई उनको राम्रो सम्झने शक्ति छ । सानै देखि हालसम्म शैक्षिक नतिजा पनि अब्बल नै छ । अब हामीले छोरीको बिहे गर्ने बिचार गरि छोरीको लागि विदेश बस्ने, विदेशमा नै जागिर भएको, विदेशकै बसोबास भएको नेपाली केटो खोज्न सुरु गर्यौ । हाम्रो सोचाइमा हाम्री छोरी संग विबाह गर्ने केटो राम्रो आनी बानि भएको छोरीलाई माया गर्ने र कमाइ पनि राम्रो भएको होस् भन्ने चाहन्थ्यौ । त्यहि अनुसार भान्दाइले थुप्रै केटोहरुको कुरो ल्याउनु भयो । म यहाँ ति मध्येका केहि केटाहरुको प्रशङ्ग कोट्याउँदैछु ।
एउटा दश, बाह्र बर्ष देखि अस्ट्रेलिया बस्दै आएको केटोको कुरा आयो । अठाइस, तीस बर्षका केटा, दुईचार राष्ट्र घुमेर काम गर्नु पर्ने रे भन्ने सुनेर हामीले पनि चासो बढायौ । तर त्यो सबै झुट रहेछ । ऊ त भिजा सकिएर अबैधानिक तवरले पो बसी रहेको रहेछ । तेसैले पो उसको अब विदेश बस्ने इच्छा छैन रे बस्ने अनुमति भए पनि नबस्ने भन्दो रहेछ । तर खै केका लागि हो बिदेशमा नै बस्न पाउने रे भन्नु परेको था भएन । विदेश बस्न पाउने डकुमेन्ट हुनुलाइ हाम्रो समाजले स्वर्ग बस्न पाउने अनुमति जस्तै ठानेर हो कि ?
दुई बर्ष अघि पनि एउटा केटाको कुरो आएको थियो, छोरीको पढाइ नसके पनि अमेरिका बस्न पाउने भइ भन्ने सोचेर छोरी दिने बिचार गर्यौ । त्यसैले केटोको बारेमा बुझ्न थालेउ, सोधखोज गर्दै जाँदा थाहा भयो, विदेश बस्ने मोहमा बिभिन्न फ्याकल्टी चेन्ज गर्दै भिजा थप्दै बस्दा रहेछन । फेरी भिजा थप्न सबै खालका युक्ति र बुद्धि लगाउदा नसकेपछि स्नातक सकिएको केटि बिहे गरि उसकै माध्यमले डिपेन्डेन्ट भिजा अप्प्लाई गरि जाने बिचारले पो कुरो ल्याएको रहेछ।हाम्री छोरीको स्नातक नसकिएको हुनाले केटा पक्षबाटै कुरा स्थगित भएको थियो ।
हाम्रो देशका युवाहरु राम्रो पढाइ गर्न नसकेपनि बिदेशी भूमिमा नै रमाउछन् । आफ्नो खेत बारी बाझो राखेर त्यहाँ भने जस्तो सुकै श्रम गर्न पछि पर्दैनन्, नेपाल आमाका छोराछोरीहरु, यति राम्रो प्रकृति, प्राकृतिक वातावरण, स्वच्छ हावा, मनमोहक दृश्यहरु भएको सुन्दर भूमिमा जन्मेर पनि, प्रदुषणयुक्त, धुवा र ग्यासहरुले भरिएको हावामा सास फेर्न रुचाउन थालेका छन्, प्राकृतिक भन्दा बनावटी कुरालाई बढी मन पराउने भएका छन् । हे नेपाल आमा तपाइको कोखमा के दोष थियो ? ममता र स्नेह कै कमीले हो त ? तपाईका सन्ततिहरु तपाईलाई बिर्सेर, लत्याएर सौतेनी आमाको काखमा रमाउन थालेका ?
भर्खर प्लस टू सकेर बिएससी नर्सिङमा भर्ना हुने बित्तिकै पनि प्रतिष्ठालाई अमेरिकाको डीभी चिट्ठा परि उतै स्थाई बसोबास गर्ने केटोको कुरा आएको थियो । हामी बुढा बुढीले छोरी दिने आन्तरिक सल्लाह गरि केटाका बारेमा सोधी खोजी गर्दा पो थाहा भयो, केटो त पहिले नै दुई विबाह भ्याई सकेको पो रहेछ । आफ्नो डीभी चिट्ठा भजाएर ऊ नयाँ नयाँ, कलिला केटीहरु संग विबाह गरि दुई चार दिन ति कलिला मुनाहरु संग राम रमाइलो गरि तिनै कलिला मुनाहरुलाई भाचभुच गरि अर्को नयाँ बिरुवा वा कलिला मुना खोज्न पल्कि सकेको ढाडे बिरालो पो रहेछ । आफुले पाएको कलिलो बिरुवालाई गोडमेल र मलजल गरेर कोपिला लगाउने र फुल फुलाउने धैर्यता नै कहाँ त्यस्ता भौतिकबादीहरू संग !
अध्यात्मका विभिन्न पक्ष मध्ये ध्यान सर्वश्रेष्ठ हो, एउटा बिन्दुमा कम्तिमा पनि दुई देखि तीन घण्टा मनलाई टिकाउने हो भने धेरै दिनको प्रयाशको बाबजुत बल्ल आनन्द र खुशीको टुषा पलाउन खोज्छ । तर सरदर सत्तरी देखि असी बर्षको मानव जीवनको फल चाख्न जीवनको केहि समय वा भनौ एक तिहाइ भाग पनि एउटी जीवन साथिसंग नबिताई सम्बन्ध तोड्ने मानिस कस्ता मानिस ! तोड्नु नै सम्बन्ध थियो भने किन जोड्नु ? सम्बन्ध सधै टिकाउन सक्दिन भन्ने लागेको थियो भने पहिले नाजोड्नु पर्थ्यो विबाहबाट जोडिएको सम्बन्ध अरु सम्बन्ध जस्तो होइन नि । काम नै पनि अलिक समय र वर्ष एकै ठाउमा अडिएर गर्न सकिएन भने राम्रो फल पाइदैन भने विबाह भनेको त दुई मनलाइ एउटा जुवामा राखेर हिड्ने काम पो हो त ! कुनै बेला खरेडी पर्छ कुनै बेला बाढी आउछ मौसम जस्तै हो ।
साँढे दुई देखि तीन घण्टा ध्यानमा बस्दा त यो मन लाखौ पटक विभिन्न ठाँऊमा पुग्छ, भाग्छ । बिर्सी सकेका कुराहरु सम्झना आउछ । बसेको ठाउँबाट उठेर कंहा जाऊ, कहाँ जाऊ हुन्छ । धेरै पटक खुट्टाहरु निदाउछन् । त्यति बेला यो मनले विभिन्न काम गर्न अर्हौछ । हाम्रो यो मानव जीवन न हो कति आरोह अबरोह आउछन, बाधा अड्चन र समस्या त कति आउछन आउछन । सबै सोचे झैँ हुँदैन, एउटा आफ्नै मन र शरीर त् आफुले सोचे अनुसार चलाउन सकिदैन भने बिबाह बन्धनमा बाँधिएर हामि अर्को एउटा शरिर, मन र आत्मा संग पनि जोडिएका हुन्छौ , अनि सबै कुरा कहाँ आफैले सोचे झैँ हुन्छ र ? मानब जीवनमा आउने यस्ता विभिन्न खालका मानवीय समबेदना, भावना, उत्तेजना, संवेग र आवेगहरुलाई सम्हाल्न नसकेर सम्बन्ध नै अन्त्य गर्न राम्रो कुरा हो र ? आज एउटा संग सम्बन्ध तोड्यो भोलि अर्को संग राम्रै मात्र होला र ! ठाकठुक पर्दैन र ? कि त सम्बन्ध नै तोड्ने हो भने आउदा दिनहरुमा एक्लै बस्ने संकल्प गर्नु पर्यो । यसरी एकपटक मात्र होइन दुई दुई पटक उहि गल्ति दोहोर्याउने केटोलाइ हामीले छोरी नदिने निधो गर्यौ ।
अब छोरी प्रतिष्ठाले एउटा प्राइभेट हस्पिटलमा जागिर सुरु गरेकी छ । पाँच महिना अगाडी हामीले उनलाई एउटा बेलाएत बस्ने केटो संग विबाह गरिदिने निधो गरि कुरो छिनेका छौ । हिजो आज प्रतिष्ठाको धेरै समय हुनेवाला जुवाई संग अनलाइन कुराकानी गर्दैमा बित्छ । उनको साथीहरुले भने अनुसार डिउटीमा पनि प्रतिष्ठालाइ अलि बढी नै फोन आउछ रे प्रतिष्ठा मात्र नभई हामी पनि अचेल धेरै जसो अनलाइन कुराकानी मै व्यस्त हुन्छौ किन कि मेरो आफ्नै बैनीले खोजेको केटो हो यो । उनीहरु बेलायतमा संगै बस्छन रे । हाम्रो काम भन्दा पनि उताका मानिसहरुको काम सकियर फुर्सद हुने बितिकै हामी बिहे कसरी गर्ने भन्ने बिषय र अरु विषयमा छलफल र कुराकानी गर्न थाल्छौ । सुरुका महिनाहरुमा बेलायत बस्ने केटोलाई छोरी दिन पाएकोमा हामी अति नै खुशी भएका थियौ तर कुरा छिनेको दुई महिना पनि नबित्दै केटोले छोरी प्रति देखाउने ब्यबहार, स्वामित्व र संका गर्ने बानीले गर्दा हामीलाई हाम्री छोरी कतै कुनै शिकारीको जालमा पो परि कि भन्ने लाग्न थालिसक्यो ।
छोरी प्रतिष्ठा मात्रै नभई हामी अधिकांश नेपालीहरु अहिले बिदेशमा बस्ने आफन्त, नातागोता, छोरा छोरी, श्रीमान् वा श्रीमतीको फोन रिशिभ गर्ने नै प्रमुख काम भएको छ । हामी सबै आफ्नाहरू बाहिर छन् भन्न पाउदा खुशी हुन्छौ, गौरब गर्छौ । बिदेशमा उनीहरु के पेशा गर्छन ? कस्तो स्टाटसमा छन् भन्ने कुरा बिचार नै गर्दैनौ । धेरै जसो नेपालीहरु तल्लो स्तरको श्रम गर्ने, विभिन्न अपराधिक कार्य, झैँ झगडा पनि गर्ने र उच्च शिक्षाको कमिले गर्दा विदशीहरुबाट हेपिन परेकोछ । दिनानुदिन बिदेशीहरुले हामी प्रति हेर्ने दृष्टिकोण हेपाहा र उपेक्षापूर्ण हुन थालेको छ । नेपालीहरु अपमानित र शोषित बन्दै बिदेशमा नै किन बसी रहेका छन् ? नेपालीहरु अर्काको भूमिमा रहरले कि बाध्यता के ले बसिरहेका छन् ? वा भनौ देशमा नै केहि गर्नु पर्छ भन्ने शिक्षाको कमीले ? कि जन्म भुमि प्रतिको माया र देश भक्ति जगाउने शिक्षा नपाएर हो त् ?
क्यानाडामा इन्जीनियरिंग गरि नेपाल फर्केर दुई बर्ष देखि खानेपानी संस्थानमा जागिर गर्दै गरेका केटोको कुरालाई लत्याएर बैनीले ल्याएको बेलाएती सिटिजन केटोलाई छोरीको विबाह गरि दिनेनिधो गरेका छौ । छोरीको बर्तमान अबस्थालाइ नियाल्दा लाग्छ कि तिनै खानेपानीमा जागिर गर्ने केटोलाइ दिएको भए हुने रैछ । उति खेर नेपालमा नै बस्ने भन्ने सुनेर के दिनु जस्तो लाग्यो । सुन्न त् ऊ पढेको युनिभर्सिटी नै टप गरेका रे भनेको सुनेका थियौ । हामीलाई लाग्यो कि त्यस्तो गरेका भए त उतै बसी हाल्थे नि । त्यहाको सरकारले कहाँ छोड्थ्यो होला त ! तर युनिभर्सिटीको पिएचडी गर्ने अफर र भबिस्यमा पाइने त्यहाको स्थाई बसोबासको सम्भाबनालाइ छोडेर वाटर रिसोर्सको दोश्रो धनि देश हाम्रो नेपालमा मानिसहहरुले भोगी रहेको काकाकुलको अबस्था देखेर त्यो क्षेत्रमा केहि गर्न सक्छु कि भनेर देश फर्केका रहेछन् र उसको अध्ययनको बिषय पनि त्यहि रहेछ । हामीले केटोको बास्तबिकतालाइ केटी माग्ने बिज्ञापन मात्र ठानेर छोरी दिन इन्कार गर्यौ । हामी नेपालीहरु कहाँ बास्तबिकता बुझ्छौ र ! हल्लाका पछाडी मात्र कुद्छौ, देशमा नै बसेर केहि गर्छु भन्नेलाई साथ दिन त कता हो कता खुट्टा तान्छौ, कसैले नयाँ र राम्रो कुरा आविस्कार गर्यो भने यथार्थ बुझ्दैनौ, इनिसियसन गरेर प्रोत्साहन गर्दैनौ बरु उल्टै खिल्ली उडाउने र खुट्टा तान्ने गर्छौं । जसको मुखमा पनि नेताले गरेनन, अरु कसैले गरेन भन्ने मात्र झुण्डीएको हुन्छ । त्यसो भनि रहदा ऊ आफुले मैले के गरे भन्ने कहिले सोच्दैन, देशका लागि आफुले के भूमिका गरे भन्ने बारेमा सोच्दैन बरु कतै, कुनै अफिसमा काम गर्ने हो भने सेवा ग्राहीलाई पर्खाएर ऊ गफ गरि रहेको हुन्छ । शिक्षक हो भने बिद्यार्थीलाइ धुलोमा उफ्रन छोडेर जे पायो तेही खाने उचित बाताबरण सृजना गर्दैएकार्कामा झगडा गर्ने ऊ आफु चाहि अरुले यो गरेन, त्यो गरेन, केहि गरेन भन्ने गफ गरिरहेको हुन्छ । यस्ता केहि गर्छु भनेर देश फर्कने र राम्रा काम र कुरा गर्ने मानिसहरु हास्यका पात्र बनाएर उडाइन्छन् कि त् पेलिन्छ्न । बिचरा त्यो बबुरोलाइ के थाहा आफ्नै देशमा केहि गर्छु भनि युबा जोस र जागर बोकेर आएकोछ।काम नगर्नेहरुको आखाको तारो बनेको छ चम्चे हरुको निशाना बनेको छ, ति चम्चेहरु पनि चम्चे बन्नु नै छ भने देश बनाउने आँट गर्नेको बन्नु, अगाडी पछाडी लागेर झोला नै बोक्नु छ भने विद्वानको बोक्नु ,व्यक्तिगत स्वार्थ र एकछाक खाना कै लागि किन सारा जनताको गाली खानु ? केटाका बुवा र आमा भोजपुरबाट काठमांडू बसाइ सरेका रहेछन । घरमा हजुर बुवा आमा पनि हुनुहुँदो रहेछ । केटोको दाजु भाउजु, दिदि बहिनि, ठुलो परिवार, त्यस्तो ठाउमा टिक्न मुस्किल पर्ला कि भनेर पनि नदिएका हौ ।
सरकारी कार्यालयमा हुने चाकरी चाप्लुसी, नाताबाद कृपाबाद र भ्रष्टाचाको दलदलमा त्यो बिचरो एक्लो देशभक्त टिक्न मुश्किल प्राय छ । तैपनि उसले हार खाएको छैन केहि गर्न सक्छु कि भनि अनबरत इमान्दारीका साथ लागि रहेको छ । एउटा सरकारी बिद्यालयमा शिक्षण गर्ने एक शिक्षिका संग बिबाहा गरेर संयुक्त परिवारमा मिलेर बसेका छन । उनीहरुको परिवारलाई देखेर मलाइ इर्श्या लाग्न थालेको छ । तर अब ढिला भै सक्यो । कहिलेकाहिँ यस्तो पनि लाग्छ यस्ता सच्चा देशभक्त, मिलनसार र मेहनती केटोलाई दिएको भए हाम्री छोरी प्रतिष्ठाले पनि देश र समाजका लागि केहि गर्न सक्थी होली, हाम्रो लगानी र मेहनत देशकै लागि प्रयोग हुन्थ्यो होला । उनको इज्जत र प्रतिष्ठा रहन्थ्यो होला ।
तर प्रतिष्ठा आज अर्कैको हातमा छे । बिबाहा नै भएको छैन, तर कठपुतली झैँ जे भन्यो त्यै मान्नु पर्छ । अनेक प्रेशर र दबाब सहनु पर्छ । बिदेशी भुमि स्वर्ग झैँ लाग्ने सोच र आफु पनि त्यहि पुग्ने अभिलाषाले, पाउन्डको सपनाले र बिदेशमा नेपालीहरुको अबस्था कस्तो छ भन्ने नजान्नाले वा भनौ अज्ञानताले यो अबस्था आएको छ । उठ भने उठ्नु पर्ने बस भने बस्नु, मन लागोस नलागोस बोल्ने पर्ने, सन्चो होस् वा बिसन्चो, दिन हो या रात जति बेला हाजिर हुनुपर्ने कृतिम हासो र खुशी देखाउदै मन भए पनि नभए पनि बोल्नै पर्ने । हाम्री प्रतिष्ठा यसरि लुटिदैछे, खोसिदैछे । उसैको इशारामा ऊ आफ्नो प्रतिष्ठा गुमाउन पुगेकी छे । हामी बाबु आमा केवल मुक दर्शक भएर हेरी रहेका छौ । हामी केहि गर्न सक्दैनौ किन कि यो हाम्रै सोचाइ, रहर अनि मानसिकताको उपज हो र बोल्ने समय र अब हामीले अधिकार पनि गुमाई सकेका छौ ।
साहित्य, सभ्यता र आध्यात्म को मुहान ऋषि र महात्माहरुको पुण्य भूमि, ज्ञान र बिज्ञानको प्रार्दुभाब भएको ज्ञानभुमि, शान्ति भूमि र सुन्दर मनमोहक प्राकृतिक छटाले भरिपुर्ण देशलाई छोडेर कस्तुरीले बास्नादार वीणालाइ आफ्नै नाभीमा बोकी जंगल भरि खोज्न निस्के झैँ हामी पनि भड्किरहेका छौ, भौतारिरहेका छौ र खोजिरहेका छौ ।

प्रतिक्रिया दिनुहोस्