काभ्रे– सुरक्षित गर्भपत सेवालाई महिलाहरुको प्रजनन् अधिकारको रुपमा लिइएपनि सुरक्षित गर्भपतन गरेपछि पनि अस्थायी साधनको प्रयोग गर्न भने नमान्ने परिपाटी कायमै रहेको छ । स्वास्थ्य कार्यालय काभ्रे तथा नेपाल परिवार नियोजन सङ्घ काभ्रेले अझै पनि महिलाहरु सुरक्षित गर्भपतन सेवा लिएपछि पनि गर्भ रोक्नका लागि अस्थायी साधन प्रयोग गर्न नमान्ने गरेको जनाएका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेको बार्षिक प्रतिवेदनले गर्भपतन सेवा लिएपछि पनि महिलाहरु लामो समयसम्म प्रयोग गर्न मिल्ने परिवार नियोजनका अस्थायी साधनहरु प्रयोग गर्न हिच्किचाउने गरेको देखाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६७÷०७७ मा जिल्लामा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा गएर सुरक्षित रुपमा गर्भपतन सेवा लिनेको सङ्ख्या एक हजार ९०१ जना महिला रहेका छन् । यसमध्येमा औषधि सेवनबाट एक हजार ४४१ जना र सर्जिकल (चिकित्सकिय) माध्यमबाट ४६० जना रहेको कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेकी पब्लिक हेल्थ नर्स निरिक्षक सिता गुरुङले जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाहरु अहिले पनि लामो समयसम्म काम गर्ने परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न हिच्किचाउने गरेको बताउनुभयो । उहाँले सुरक्षित गर्भपतन गराउनेमध्ये आर्थिक वर्ष २०७६÷०७७ मा करिब १५ प्रतिशत महिलाले मात्रै लामो समयसम्म काम गर्ने अस्थायी साधनहरु प्रयोग गरेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा चिकित्सकिय र औषधिको माध्यमबाट गरी एक हजार ८०२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । आ.व. २०७५÷०७६ मा सुरक्षित गर्भपतन गराउनेमध्ये २२ दशमलव ४ प्रतिशत महिलाले लामो समयसम्म काम गर्ने अस्थायी साधन प्रयोग गरेको पब्लिक हेल्थ नर्स निरिक्षक गुरुङले बताउनुभयो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा २० वर्षमुनिका १० दशमलव ५ प्रतिशत महिलाले सुरक्षित गर्भपतन गराएका छन् । जुन अघिल्लो आ.व.को तुलनामा कम हो । स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स निरिक्षक गुरुङका अनुसार पछिल्लो वर्षहरुमा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बृद्धि भएको छ । बनेपामा रहेको नेपाल परिवार नियोजन सङ्घका अनुसार सन् २०२० मा सङ्घ र सङ्घ अन्र्तगत पाँचखालमा रहेको परिवार स्वास्थ्य केन्द्रमा गरी एक वर्षको अवधिमा दुई सय १९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । कार्यालयका बरिष्ठ शाखा प्रमुख रमेश श्रेष्ठले सङ्घमा सुरक्षित गर्भपतन गराउनेमा २५ वर्षमुनिका ४७ जना महिला र २५ वर्षदेखि ४९ वर्ष उमेर समुहका एक सय ७२ जना रहेको बताउनुभयो ।
श्रेष्ठले सङ्ले औषधि र चिकित्सकिय विधिबाट सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले सङ्घले सुरक्षित गर्भपतन सेवा महिलाहरुको प्रजनन् अधिकार हो भन्ने विषयमा जनचेतना जगाउनका लागि जिल्लामा सडक नाटक, बुक लेट, लिफ लेट तथा दौतरी समुह, युथ भोलियन्टियरबाट जनचेतना जगाउने काम गर्ने गरेको बताउनुभयो । उहाँले सुरक्षित गर्भपतन गराउन पाउनु महिलाको प्रजनन् अधिकार भएपनि अझैपनि महिलाहरु सुरक्षित गर्भपतनका लागि सहज रुपमा आउन नसकेको बताउनुभयो ।
सुरक्षित गर्भपतन सेवालाई प्रजनन् अधिकारको रुपमा लिइएपनि यस सेवालाई साधनको रुपमा प्रयोग गर्दै एउटै महिला पटक÷पटक गर्भपतन गराउनका लागि आउने गरेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले सुरक्षित गर्भपतन सेवालाई साधनको रुपमा प्रयोग गर्दा महिलामा पाठेघरको समस्या, बाँझोपना हुनेलगायतका थुप्रै समस्याहरु देखिने बताउनुभयो ।

– Mechikali बाट