बनेपा, शनिबार बनेपा–१० मा विभिन्न पार्टी परित्याग गरी १०० राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । त्यस्तै ७ नं. वडाका ५० जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । यसैगरी धुलिखेल वडा नं. ४ मा विभिन्न पार्टी बाट ४९ जना युवाहरू नेकपामा प्रबेश गरेका छन ।
माघ १७ गते नेकपाको पनौती नगर कमिटीको भेलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेकपामा प्रवेश गरेका थिए ।
धुलिखेलमा अध्यक्ष अशोक ब्यान्जुले र अन्यत्र सबै स्थानमा नवप्रवेशीलाई पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य, काभ्रे इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा स्वागत गरेका हुन ।
गत माघ १० गते विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि चौलागाईँले नेकपाको जिल्ला भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राष्ट्रवाद र राष्ट्रियता’ले जनताको मन जितेको दाबी गर्दै नेकपामा प्रवेश गरेको घोषणा गरेका थिए । १४५ चन्द समूहका नेता कार्यकर्तालाई बाँस्कोटाले स्वागत गरेका थिए । धुलिखेलमा ७५ र बनेपामा ७० चन्द समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।
चन्द समूहका राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष, पूर्वी ब्यूरो सदस्यलगायत अधिकांश चन्द समूहका जनवर्गीय सङ्गठनका पदाधिकारी रहेका थिए । चन्द समूहका अन्य नेता कार्यकर्तालाई नेकपामा प्रवेशबारे छलफल भइरहेको पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य, काभ्रे इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले बताए ।
बाँस्कोटाले पार्टी प्रवेश गराउने अभियानकै रूपमा सञ्चालन गर्दै आएका छन् । उनको पार्टी प्रवेश गराउने शृङ्खला गत साउन महिनादेखि शुरु भएको हो । बाँस्कोटाको सक्रियतामा पनौती नगरस्थित बल्थलीमा कांग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४ नेता कार्यकर्तालाई नेकपामा प्रवेश गरे । बाँस्कोटाको सक्रियतामा हालसम्म दोस्रो ठूलो दल र विभिन्न पार्टीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् ।
पार्टीको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बनेपा वडा नं. १० को वडा भेलाले पवन केसीको अध्यक्षतामा २२ सदस्य वडा कमिटि गठन गरेको छ ।
भेलाले अशोक विष्टको संयोजकत्वमा २२ सदस्य राष्ट्रिय युवा संघ बनेपा १० नं. कमिटि र विमु खत्रीको संयोजकत्वमा अखिल नेपाल महिला संघ १० नंं वडा कमिटि गठन गरेको छ । –नव क्षितिज साप्ताहिकबाट








