काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताउनुभएको छ । नेकपा वाग्मती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार राजधानीमा बृहत जनसभाको आयोजना भएको थियो । जनसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा केपी ओली जिन्दाबाद, केपी ओली अघि बढ हामी तिम्रो साथमा छौं, जस्ता नारा लागेका छन् । नारायणहिटी संग्रहालय अगाडी भएको जनसभामा उहाले लोकतन्त्र, गणतन्त्रलाई अब कसैले पनि केही गर्छु भनेर नचिताए हुन्छ भनेर स्पष्ट सन्देश प्रवाह गर्नुभयो । ‘लोकतन्त्र सुदृढ छ किन भने नेपाली जनता सचेत छ । यहाँ कसैले कुनै हिसाबले पनि लोकतन्त्तलाई केही गर्छु भनेर नचिताए हुन्छ । लोकतन्त्रतर्फ कर्के आखा नलाए हुन्छ । कसैले प्रतिगमन नसोचेपनि हुन्छ । यो देश अब अघि बढ्यो बढ्यो’, प्रधानमन्त्री ओलीले यत्ति भनिनसक्दै केपी ओली जिन्दावाद, केपी ओली हामी तिम्रो साथमा छौं, जस्ता नारा लगातार घन्कियो ।
ठुलो संख्यामा उपस्थितहरुले लगातार नारा लगाएपछि नेकपा अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली आफैले हस्तक्षेप गरेर रोक्न आग्रह गर्नुभयो । त्यसपछि पनि लगातार नारा घन्किरह्यो । प्रधानमन्त्री ओलीले हातको इशारामा बस्न आग्रह पनि गर्नुभयो । तर, भिडबाट आवाज गुन्जिरह्यो । करिव एक मिनेटसम्म नारा घन्किएपछि प्रधानमन्त्री ओलीले ‘साथीहरु शान्त रहनुहोस् त मैले केही कुरामात्र राख्नु छ’, भनेपछि भिड शान्त बनेको थियो ।
उहाँले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्न अधिकार हुने बताउनुभयो । बेलायतमा लिखित संविधान छैन । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा लेखेको छैन तर अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराउनुभयो भन्दै उहाँले भन्नुभयो– यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ ।

सरकारलाई आफ्नै पार्टीका नेताबाट काम गर्न नदिइएकाले आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, फेरि पहिलेको जस्तो किनबेचको राजनीति, पहिले जस्तो समीकरणको राजनीति, बहुमतको सरकार ढालेर जोडजामको राजनीति उहाँहरुले खोज्नुभयो । त्यसकारण मैले काम गर्ने अवस्था नभएपछि नेपाली जनताका बीचमा ताजा जनादेशमा जानुपरेको हो । अदालत र निर्वाचन आयोग स्वतन्त्र भएकाले तिनले विवेकसम्मत निर्णय गर्ने विश्वास व्यक्त गर्दै उहाँले ती निकायलाई नधम्काउन आग्रह गर्नुभयो ।
उहाँले अब नेपाली जनताको चेतनाको स्तर बढेकाले कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताउनुभयो । निर्वाचित सरकार भए पनि तीन वर्षसम्म पार्टीभित्रकै किचलोको कारणले संवैधानिक आयोगहरु पूर्ण नभएको उहाँले स्पष्ट गर्नुभयो । उहाँले मुलुक छिट्टै विद्युतका क्षेत्रमा आत्मनिर्भर हुने बताउनुभयो । फेरि लोडसेडिङ आउँछ कि भन्ने भ्रम फैलाउने काम भएको छ, जनता ढुक्क हुनुहोस्, हामी विद्युतमा आत्मनिर्भर मात्र होइन, बिक्री गर्ने ठाउँमा पुग्दैछाँै, उहाँले भन्नुभयो, उहाँले दैलेखबाट पेट्रोल र डिजेल, नवलपरासीको धौबारीबाट फलाम र स्टिल निकाल्न खानी सर्वेक्षणका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।
नारायणहिटी दरबार अगाडि भएको आमसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, बागमती अध्यक्ष आनन्द पोखरेल लगाएतलले बोल्नुभएको थियो । –नव क्षितिज साप्ताहिक बाट