गतिविधि तिव्र पार्दै नेकपा काभ्रे


बनेपा,  २०७५ साल जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेदेखि नै शुन्य गतिविधिमा रहेको नेकपा काभ्रे चलायमान बनेको छ ।

पुस १४ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको अध्यक्षतामा बसी नेकपा काभ्रेलाई चलायमान बनाउन शुरु गरिएको हो । बैठकले पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई पदमुक्त गर्ने निर्णय गर्दै चौलागाईको स्थानमा केन्द्रिय सदस्य समेत रहेका अशोक ब्याञ्जु र सचिव वाईवाको स्थानमा केन्द्रिय सदस्य समेत रहेका नारायण पाण्डेलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ब्याञ्जुले जानकारी दिए ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटीका सदस्य र बाग्मति प्रदेश कमिटीका सदस्य समेतको उपस्थिती रहेको थियो । १ सय २६ सदस्यीय जिल्ला कमिटीमा २ जनाको निधन र एक जना बैदेशिक रोजगारमा छन् । जसमध्ये ६४ जना बैठकमा सहभागि भएको सचिव नारायण पाण्डेले बताए । बैठकले पार्टी एकताको भावना र बिधान विपरित गुटबन्दी गरि बहुमत अल्पमतको आधारमा आफ्नै पार्टीको नेतृत्वको जननिर्वाचित बहुमतको सरकार ढाल्न पार्टी भित्रैबाट अविस्वासको प्रस्ताव दर्ता गर्ने कार्यप्रती खेद ब्यक्त गरेको छ । गम्भिर अवस्थामा राजनितिक अस्थिरता श्रृजना गरि मुलुकको भविष्य अन्धकारतर्फ धकेल्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल गुटले फैलाएको भ्रममा नपरी मुलुकको कम्युनिष्ट आन्दोलनलाई संगठित र एकताबद्ध रहन आम नेपाली जनता र सिंगो पार्टीपंक्तिमा अपील गर्ने निर्णय गरेको छ । नयाँ जनादेशको लागि प्रतिनिधीसभा विघटन गरि प्रतिनिधीसभाको निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको स्वागत गर्दै सम्पूर्ण पार्टीपंक्तीलाई निर्वाचनमा केन्द्रीत हुन आव्हान गरेको अध्यक्ष ब्याञ्जुले बताए ।

बैठकले काभ्रे जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कमिटीमा मनोनित हनुभएका रामहरी सुवेदी, कुमार खकुरेल, नारायण पाण्डे, भिम न्यौपाने, कुमार थापा, अशोक ब्याञ्जु, अम्बुभवानी कार्की, नवीना लामा, रेशम लामा, चन्द्र लामा, उद्धव केसी, रिता ढकाल, रुक्मणी बराईली र प्रकाश गौतमलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्ने निर्णय गरेको छ ।
पार्टी जिल्ला कमिटीका सदस्यहरु हरिदेव गीरी र उज्वल लामा र पूर्व जिल्ला कमिटी सदस्य प्रेम सिग्देल र रामकृष्ण भण्डारीको असामयीक निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको अध्यक्ष ब्याञ्जुले बताए । उनले पार्टीको नेतृत्व गर्नुको सट्टा गुटगत गतीविधी गर्ने, संगठनात्मक पद्धती विरोधी गतिविधीमा संलग्न भएका कारण जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाईवालाई क्रमसः जिल्ला कमिटीको अध्यक्ष र सचिव पदबाट पदमुक्त गर्ने निर्णय गरिएको पनि बताए ।
संकटको बीचमा पनि आशावादी छौ–पोखरेल

धुलिखेल, नेकपा नेता एवं उपप्रधान मन्त्री इश्वर पोखरेलले संकटको बीचमा पनि आशावादी रहेको बताएका छन । आशावादी भएरै बस्तुस्थितीको वास्तविकताका आधारमा ठिक ढंगले अघि बढौ भन्दै उनले पुष्पकमल दाहालले एकता गरिरहँदा नै छलछाम र षढयन्त्रको तानाबुना शुरु गरेको बताए ।

नेकपा ओली समुहको पुर्वी बागमती जिल्लाका केन्द्रिय सदस्यहरुको बिहिबार धुलिखेलमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले निर्वाचनताका साझा उम्मेदवार, साझा घोषणा पत्र र साझा निर्वाचन चिन्ह बनाएर जाने निर्णयको मसि नसुक्दै प्रचण्डले चुनाव चिन्ह एउटै हुँदैन भनेको सम्झदै पार्टी एकिकरण प्रस्तावमा हामी खुशी हुँदा प्रचण्डले शुरुमै दाँतमा ढुंगा लगाएको बताए । ‘चुनाव चिन्हको गडबढीका कारण १० लाख मत बदर भयो’–नेता पोखरेलले भने–‘निर्वाचन अगावै एकता भाड्न लाग्नु भएका प्रचण्डले २०७४ फागुन ३ गते सरकार गठनमा अवरोध गरेर दोश्रो पटक एकतामा आँच पुर्याउनु भयो ।’

निर्वाचनमा साझा उम्मेदवार, घोषणा पत्र र उम्मेदवार उठाएर अघि बढेको पार्टी काँग्रेस, मधेशवादी दल र अन्य साना पार्टीसँग मिलेर ५ वर्ष प्रधानमन्त्री बन्ने योजनाका साथ प्रचण्डजीले सम्झौता गर्नु भएको नेता पोखरेलले बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डजीको धुत्र्याई थाहा पाएर एकताका लागि २०७४ फागुन ७ गते गठबन्धन टुट्नु हुँदैन भनेर सम्झौता गरेको भन्दै नेता पोखरेलले जनताको चाहना, कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा थुप्रै असहमतिका बाबजुत पनि पार्टी एकिकरण गरेको बताए ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट केन्द्रिय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरुका साथै संघ र प्रदेश सरकारमा मन्त्री भएका नेताहरु भेलामा सहभागि थिए । नेता आनन्द पोखरेलको अध्यक्षतामा बसेको भेलामा बागमती प्रदेशका पाँचवटा जिल्लाको अवस्था, नेता तथा कार्यकर्ताहरुको संलग्नता र आगामी दिनको रणनीतिका बारेमा कार्ययोजना तयार गरिएको थियो । केन्द्रिय सदस्य गोकुल बाँस्कोटाको संचालनमा सम्पन्न भएको भेलामा केन्द्रिय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, मन्त्रीहरु पार्वत गुरुङ्ग, दावा तामाङ, बागमती प्रदेशका अथमन्त्री कैलाश ढुंङ्गेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सोहिदिन प्रेस संगठनका पत्रकारहरुको भेला धुलिखेलमा सम्पन्न भएको छ । पुर्व प्रेस चौतारी निकट पत्रकारहरु भेला भएको कार्यक्रम अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेकपाका केन्द्रिय सदस्य गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डेलगाएतको आतिथ्यता रहेको भेलामा केन्द्रिय सदस्य बाँस्कोटाले पदमा सिद्धान्त साट्नेहरु र घुक्र्याएर पद लिनेहरुलाई कार्यकर्ताले हिसाव गर्ने बताए । १५ वर्षसम्म माधव नेपाललाई पार्टी महासचिवमा सहयोग गर्ने ओलीलाई माधव नेपालले ५ दिन पनि सहयोग नगरेको बताउदै बाँस्कोटाले भने ‘माधव नेपाल नक्कली जवजबादी हुन’ माधव नेपालको मनमा मदन भण्डारीका बारेमा मैलो छ ।’ नेता बाँस्कोटाले पार्टीको विधान विपरित पुष्पकमल दाहाल र माधव नेपालले कार्य गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्