काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित बेथानचोक नारायणस्थान, महाभारत पर्वत श्रृखला मध्ये काभ्रेको सबै भन्दा अग्लो र श्रृखलाभरमा १४ औं अग्लो श्रृखलामा रहेको छ ।
बेथानचोक गापा वडा न. ३ मा रहेको बेथानचोक नारायणस्थान समुन्द्री सतहबाट ३०१८ मिटर उचाईमा रहेको छ । चारै तर्फ भञ्ज्याङ्गहरु रहेको यस स्थानबाट पुर्वमा पर्ने मकालु वरुण देखी विश्वको सर्वोच्च शिखर सगरमाथा हुदै पश्चिममा पर्ने धौलागीरी सम्मका हिमश्रृखलाहरुलाई यो स्थानमा बसेर अवलोकन गर्न सकिन्छ ।
छ प्रकारका लालिगुराँस लगाएत विभिन्न सिजनमा बनै ढकमक हुने गरि फुल्ने प्राकृतिक फुलहरुले यहा जाने जो कसैलाई मोहित गराउछ । महाभारत पर्वत को काखमा अवस्थित, हरियाली, सुन्दरता र सम्पूर्ण हिमश्रृखला, उच्च पहाड, मध्य पहाड, महाभारत पर्वत श्रृखला, चुरे पर्वत श्रृखला र तराईका फाँट हुदै भारतको केहि भुभाग समेत एकै स्थानमा बसेर अवलोकन गर्न सकिने भएकै कारण पनि यो स्थान पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ ।
जिल्लाकै अग्लो समुन्द्री सतहबाट ३ हजार १८ मिटर उचाइमा रहेको बेथानचोक नारायणस्थान आन्तरिक र बाह्य पर्यटकका लागि जति मनमोहक छ । त्यती नै धार्मिक हिसाबले पनि महत्वपुर्ण छ । यहाँ अवस्थित बेथानचोक नारायणस्थान ऐतिहासीक धार्मीक तिर्थस्थल पनी हो । यो नारायण मन्दिरमा पुजा गरे मनोकामना पुरा हुने धार्मीक विश्वास रहि आएको छ । जसका कारण यहाँ पुजा गर्नकै लागी पनि टाढा टाढाबाट भक्तजनहरुको उपस्थिती हुने गरेको छ । यस स्थानमा विषेश गरेर फागु पुर्णीमाको दिन बिशेष मेला लाग्ने गर्दछ । भक्तपुरका मल्ल राजाद्वारा यो बेथाञ्चोक नारायणको स्थापना गरी, नित्य पूजा आराधनाको शुरुवात गरेको किम्वदन्ती पनि रहेको छ ।
दृष्य अवलोकनको लागी प्रख्यात रहेको कारण यसलाई पहाडहरुको राजा पनि भन्ने गरेको छ ।
हिउदको समयमा यहाँ हिउँ पर्ने गर्दछ हिउँ खेल्नको लागी युवाहरु यहाँ आउने गरेका छन् ।

नारायणस्थान र बेथानचोक गापामा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकलाई सुबिधा दिन केहि निजी र केहि सामुदायीक होमस्टेहरु समेत संञ्चालनमा छन् ।
यहाँ जानको लागी काठमाण्डौं वाट बनेपा र बनेपा देखि १९ कि.मी. दक्षिण जानु पर्दछ । पनौती, खोपासीहुदै ढुंखर्क पुग्न सकिन्छ । जहाँसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि निजी सवारी भए केहिमाथी र नभए दुई घण्टा पैदल हिडेर यहाँ पुग्न सकिन्छ ।