होमप्रसाद चौंलागाँई/मण्डनदेउपुर

मण्डनदेउपुर नगरपालिका वडा नं. १० चण्डेनी मण्डनको बाँसगेडी माझी बगरको २ सय रोपनी जग्गा चक्लाबन्दी हुने भएको छ । प्रधानमन्त्री कृषि आद्युनिकिकरण परियोजना सुपरजोन काभ्रेको यन्त्र मैत्री गर्हा सुधार गरि सामूहिक खेती प्रणाली कार्यक्रम अन्तर्गत उक्त बगरमा चक्लाबन्दी गरिन लागिएको हो । सिमान्तकृत माझीहरुको पूरातन थाकथलोको रुपमा चिनिने मण्डनदेउपुर नगरपालिकाको आँपचौरको ठीक तल ईन्द्रावती बगरमा रहेको उक्त बाँसगेडी माझी बगर माझीहरुको ऐतिहासिक भूमि समेत हो ।
मंसीर ९ गते प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन काभ्रेका सचिव सुमन नेपालले संचालन गरेको कार्यक्रमा नेकपाका प्रभावशाली नेता तथा नेपाल सरकारका पूर्व संचार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम मण्डनदेउपुर नगरपालिकाका उप प्रमुख निर्मला शाही र सुपरजोन सिन्धु तथा काभ्रेका प्रमुख प्रकाश पौडेलको विशेष अाितथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सुपरजोन काभ्रेका अध्यक्ष तथा पाँचखाल नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरि खतिवडा, मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेल, स्थानीय समाजसेवी एकराजकुमार शाही, कृष्णकुमार श्रेष्ठ, हरिप्रसाद नेपाल, वडाध्यक्षहरु झलकप्रसाद पौडेल, जितबहादुर तामाङ, विष्णुमणी नेपाल, उद्योग वाणिज्य संघ मण्डनदेउपुरका अध्यक्ष बद्रिप्रसाद नेपाल लगायत मण्डनदेउपुर स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र चण्डेनी मण्डन भेगका कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पूर्व मन्त्री बाँस्कोटाले ड्रोन उडाएपछि डोजर स्टार्ट गरी कार्यक्रमको उद्घाटन भएसंगै २ सय रोपनी जग्गाको चक्लाबन्दी गर्ने कार्य युद्धस्तरको गतिमा चलिरहेको स्थानीय राजकुमार माझीले बताए ।
नयाँ कार्यक्रमको शुभारम्भ हुँदा कता कता अन्यौल हुने कुरा स्वभाविकै भएपनि कम्युनिष्टहरुको दूरगामी गन्तब्य भनेको सामूहिक खेती प्रणाली र सिमान्तकृत तथा जनजाती वर्गको उत्थान भएकोले चक्लाबन्दी सहितको सामूहिक खेतीको प्रारम्भिक चरणमा माझी बगरलाई छानिएको बताइएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरुले यसको दूरगामी महत्व, प्रभाव र निरन्तरताको विषयमा घनिभूत छलफल र अन्तरक्रिया समेत गरेका थिए ।
लामो समयसम्म राजधानी नजिकको रुकुम भनेर चिनिंदै आएको काभ्रेपलाञ्चोक जिल्लामा माननीय गोकुल बास्कोटाको पहल कदमीमा झापा पछिको थुप्रै बजेट आई विकास निर्माणको काम भएको भन्नेहरुप्रति धन्यवाद दिंदै आफु खुट्टा तान्ने र विरोध गर्नेहरुको पछि कहिल्यै नलाग्ने बरु त्यसलाई सिको र शिक्षाको रुपमा ग्रहण गर्दै अघि वढिरहने बाँस्कोटाले बताएका थिए । त्यतिमात्र नभएर आगामी दिनहरुमा समग्र काभ्रेली जनताको घरदैलोमा आउँदा विकासको फेहरिस्ताको पोको सहित उपस्थित हुने बताएका थिए ।
अरुको नेतृत्वमा हुँदै गरेको विकास निर्माणका कामहरुबाट जल्न पुगेका विभिन्न झुण्डहरु तिरमिराइ रहेको वर्तमान सन्दर्भमा पनौतीको भालेश्वरमा लुकेर हल्लाखल्ला गर्नेहरुको हिम्मत भए भ्रमको खेती र पर्चाबन्दी नभई ताकत भए मैदानमा प्रतिस्पर्धामा उपस्थित हुन चुनौति समेत दिएका थिए ।
कुन्तावेसी–नयाँगाउँ नगरकोट सडक पिचको काम भैरहेको, दोलालघाट–हिंगुवापाटी नगरको सडकको काम भैरहेको र आगामी २ वर्षभित्र कालोपत्रेको समेत काम सकिने, सिपाघाट–देउपुर नगरकोट सडकको काम भैरहेको, ईन्द्रावती नदीमा ड्याम्प, ताल र विद्युत उत्पादन गर्ने कामको लागि अध्ययनको काम सफल भएको, पाँचखालबाट भक्तपुर काठमाडौं जाने सुरुङ निर्माणको कामको बारेमा अध्ययन भैरहेको, मदन भण्डारी विश्व विद्यालयको काम अगाडी वढिरहेको जस्ता थुप्रै दूरगामी कामहरु काभ्रे जिल्लामा भैरहेका र हुने दिसामा लम्किरहेको बताइएको थियो ।
आफु त्यस्ता खालका रवैयाको पछाडी कहिल्यै नलाग्ने बताएका बास्कोटाले विकास र जनताको काम हेर्न काभ्रेका विद्यालय, खानेपानी, स्वास्थ्यचौकी, बाटाघाटाको बजेट, आइटी पार्कमा बन्दै गरेको सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस लगायतका दजनौं सन्दर्भलाई हेर्नू भन्न भ्याएका थिए ।
यस अघि किसानका खेतमा नेतृत्वको ध्यान नजाँदा पूरातनवादी खेती प्रणाली चल्दै गएको र धेरै युवाहरु विदेसीनु परेको तथ्यांक बताउँदै किसानका खेत खेतमा नेता र नेतृत्वको ध्यान जानु र चक्लाबन्दी सहितको आधुनिक खेती प्रणालीको विकासमा प्रधानमन्त्री कृषि आद्युनिकिकरण परियोजना सुपरजोन जस्ता कार्यक्रमहरुको ध्यान पुग्नुले अबको युग एक बोट, खुर्सानी, एक बोट सुन्तला, एक बोट गोलभेंडा, केहि पाटा मकै, कोदो, केहि गह्रा धान, आलु, , एउटा बाख्राको पाठो, एउटा गाइको बाच्छो नभई आधुनिक खालको सामूहिक खेती प्रणालीमा लाग्ने यो प्रारम्भिक चरण भएकोले यस खालका काहरुलाई थप प्राथमिकता र वढोत्तरी दिने गरी कार्यक्रम ल्याइने बताइएको थियो । जाेगिटार खेल मैदान निर्माणकालागि बाँस्कोटाले १०लाख बजेटकाे घाेषणा गरे । साे कार्यक्रममा मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डाेटेलले माझी बगरमा लगाईने अालुकाे बिउकाे किसानकाे लागत वापतकाे रकम रू ३ लाख सहयाेग गर्ने घाेषणा गरे ।